arin enterprises

गुठी विधेयकको विरोधमा माईतीघरमा मानव सागर

SamacharDesk – विराजकाजी राजोपाध्याय | २०७६ आषाढ ५, बिहिबार

मिति : २०७६ असार ४ गते बुधबार

समय : विहानको १०ः३० बजेतिर

खाना खाइवरी ब्यागमा सामानहरु मिलाउन थालें । क्यामेरा लिएँ, मोबाइलबाट पनि केही भिडियो, केही स्न्याप हान्नुपर्ला भनेर सेल्फि स्टिक पनि ब्यागमा घुसाएँ । प्रचण्ड घामको गर्मीमा घन्टौं भीडमा उभिएर भागमभाग गर्दै रिपोर्टिङ गर्नुछ, पानी त चाहिएला । दुइ लिटरको बोतलमा टन्न पानी भरेर त्यो पनि ब्यागमा राखें । पानीको के भर, रेनकोट पनि कोचें ब्यागभित्र ।

ओहो, भन्दाभन्दै १०ः४५ भइ पो सकेको रहेछ । माइतीघर मण्डलामा ११ बजे कार्यक्रम भनेको थियो । आज पक्कै पनि उता मोटरसाइकल लान सकिने अवस्था रहन्न भन्दै हिँडेरै जाने निधो गरिसकेको थिएँ । बाहिर निस्कन मात्र लागेको थिएँ, घरकै बाहिर नारा घन्किन थाल्यो, ‘गुठी विधेयक खारेज गर, खारेज खारेज गर’, ‘सम्पदा मास्न पाईंदैन, पाईँदैन पाईँदैन’ । बाहिर निस्केर हेरें, विभिन्न स्थानमा भेला हुँदै माईतीघरतर्फ जाने क्रम चलिरहेको थियो । त्यही जुलुससँगसँगै म पनि माईतीघर तर्फ लम्कें ।

५० जना जतिको जुलुसमा मिसिएर गएको थिएँ तर जब सुन्धारासम्म पुगेँ, त्यो भीड त ५०० जना जतिको भइसकेको थियो । सुन्धाराबाट शहिद गेट, भद्रकाली हुँदै बढ्दा त ५ सयबाट हजारौंको संख्या पुगिसकेको थियो । भद्रकालीबाट माईतीघर जब देखिन थाल्यो, त्यहाँको उत्साह, जोश पनि देखिन थालिसकेको थियो । माईतीघरमा त विशाल मानव सागर उर्लिसकेको थियो ।

सरकारले गुठी संस्थान खारेज गर्दै राष्ट्रिय गुठी प्राधीकरण गठन गर्ने उद्देश्यले संसद्मा पेश गरेको गुठी सम्बन्धी कानूनलाई एकिकरण र संशोधन गर्न बनेको विधेयक खारेजीको माग गर्दै आज माईतीघर मण्डलामा खबरदारी सभा भएको हो । विधेयक खारेजीको मागमा आज काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, काभ्रे, धुलिखेल, किर्तिपुर, खोकना, बुंगमति लगायत विभिन्न स्थानबाट लाखभन्दा बढि संख्यामा सरोकारवालाहरु माईतीघर पुगेका थिए ।

खासमा यो सभा विधेयक विरुद्धको विरोध सभा थियो । तर हिजो भख्खरै, भूमिसुधार मन्त्री पद्मा अर्यालले विज्ञप्ति जारी गर्दै विधेयक फिर्ता लिएको घोषणा गर्नुभयो । त्यसपछि यो विरोध सभा, खवरदारी सभामा परिणत भयो र सभाका वक्ताहरुले भने, ‘हामीले विधेयक खारेजीको माग गरेका हौं, फिर्ताको होइन ।’

सभामा हरेक वक्ताको हरेक उद्गारसँगै सबै उपस्थित जन समुदाय ताली बजाउँदै थियो, सिटी फुक्दै थियो । 

अधिवक्ता शंकर लिम्बु आए र भने, ‘यो विधेयक सरकारले ल्याउने होइन, यहाँ उपस्थित यो जन समुदायले ल्याउने हो । यहाँका नेवाःहरुको गुथि मास्ने विधेयक ल्याउने अधिकार तपाईँहरुलाई कसले दियो, सरकार ?’

त्यसैगरी मञ्चमा मल्ल के. सुन्दर पनि गर्जिए, ‘जसको त गुथि नै छैन, तिनीहरुलाई नै गुठी विधेयक किन चाहियो ?’

नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले पनि भने, ‘हाम्रो संस्कृति हाम्रो ज्यान हो, यसलाई बचाउन हामी जे पनि गर्न तयार छौं ।’

गुथि प्रथालाई सामन्ती भन्ने संचारमन्त्रीको राजीनामा हामीले किन नमाग्ने ?’

माईतीघरभरी नै समूह समूहमा नारा गुन्जिरहेको थियो । साँस्कृतिक बाजागाजा र झाँकिसहित पनि धेरै जना त्यहाँ पुगेका थिए । लाखे नै तीन जना देखिए । धिमेय्, खिं, भुस्याः आदिको तालले माईतीघर गुञ्जायमान थियो । यी तालहरुसँगै मञ्चमा गुठी विधेयकको विरोध पनि हुँदैथियो ।

अग्रजसाथै यूवा नेताहरु पनि मञ्चमा देखिए । यूवा अभियन्ता सुरज महर्जनको जोश पनि कम थिएन, ‘हेर्नुस् मन्त्रीज्यू, भाडामा आएका दुइ चार जना नेवाःहरु कति रहेछन् । गुथि प्रथालाई सामन्ती भन्ने संचारमन्त्रीको राजीनामा हामीले किन नमाग्ने ?’

गणपतिलाल श्रेष्ठ पनि उत्तिकै जोशमा थिए, ‘नेवाः भनेको समुदाय होइन, सभ्यता हो । यो सभ्यता मास्ने अधिकार कसैलाई पनि छैन ।’

नेपालमा विभिन्न कालखण्डमा भएका विभिन्न क्रान्ती वा प्रदर्शनमा भिन्नै किसिमको थियो यो खबरदारी सभा । यहाँ कुनै पनि पार्टीका झण्डा पनि देखिएनन् र पार्टिगट हिसावले कुनै नेता पनि देखिएनन् । देखियो त बस् नेपालको झन्डा र नेवाः स्वायत्त राज्यको झन्डा ।

२ बजे आसपास पुग्दा भीड पातलिएको त थियो तर अझै पनि केही समूह नाराबाजी गर्दै बसिरहेको थियो त केही समूह अब यो आन्दोलन कसरी अगाडी बढ्ला भनेर अड्कल लगाउँदै थिए । हामी पनि पत्रकारहरुको एक समूह जम्मा भई न्यूज एंगल खोज्दैथियौं । त्यसैबेला एक ज्येष्ठ नागरिक खर्पनमा दुइटा गाग्री र एक हातमा पानीको जग बोक्दै आइपुगे । म अगाडी बढेर सोधें,

‘छि लः गुथियाम्ह कि छु ? (तपाईं लः (पानी) गुथिको हो ?’

‘खः, जुलुसय् वःपिन्त लः त्वंकः वयागु का । (हो, जुलुसमा आएकाहरुलाई पानी पिलाउन आएको नि)’

‘गनंनिसें झायागु ले ? (कहाँदेखि आउनुभयो)’

‘खोकनां वयागु । (खोकनाबाट आएको)’

नेवाः समुदायमा लः गुथिका सदस्यले जात्रापर्व विशेषमा पानी बोकेर आई जात्रामा आएका जन समुदायलाई पानी ख्वाउने काम गर्छ ।

फोटोहरु हेर्न यहाँ क्लिन गर्नुहोला 

Categorized in राष्ट्रिय