आशा भोसलेको निधनमा प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ चैत्र २९, आइतबार
भारतकी प्रशिद्ध दिग्गज गायिका आशा भोसलेको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
सामाजिक संजाल एक्स मा लेख्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतकी प्रशिद्ध र बहुमुखी गायिका आशाको निधनले आफुलाई गहिरो दुःख लागेको भनेका छन् ।
‘दशकौंको उनको अनौठो सांगीतिक यात्राले हाम्रो सांस्कृतिक सम्पदालाई समृद्ध बनाएको छ र विश्वभरका अनगिन्ती मानिसहरूको हृदय छोएको छ । भावपूर्ण धुनदेखि जोशिलो रचनाहरूसम्म, उनको आवाजमा कालातीत प्रतिभा थियो’ प्रधानमन्त्री मोदीले लेखेका छन् ।
गायिका आशाको ९२ वर्षको उमेरमा शनिवार निधन भएको हो । शनिवार उनलाई हृदयघात भएको थियो हृदयघात पछि उनलाई मुम्बइको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । मल्टि अर्गान फेलियरका कारण उनको मृत्यु भएको बताइएको छ ।
आशा फोक्सोको समस्याबाट पिडित थिइन् ।
उनको अन्त्येष्टि भोलि सोमवार साँझ ४ बजे शिवाजी पार्क घाटमा गरिने भनिएको छ ।
भारतीय दिग्गज गायिका आसालाई भजनदेखि क्याबरेसम्म जुनै प्रकारको गीत पनि गाउन सक्ने गायिकाको रुपमा लिइन्छ ।
उनको जन्म १९३३ सेप्टेम्बर ८ को दिनमा भएको थियो । १९४३ मै १० वर्षको उमेरबाट उनले गायन सुरु गरिसकेकी थिइन् । आशा भोसलेको आवाजमा १० हजार भन्दा बढि गीत रेकर्ड भएको छ ।
आशाले थुप्रै नेपाली गीतहरु पनि गाएकी छिन् । गैरीखेतको सिरै हान्यो, एउटा मान्छे मनपर्छ, यति धेरै माया दियौ, माइतीघर, साउने झरीमा, मोहनी लाग्ला है लगायत आशाबाट स्वरबद्ध थुप्र्रै नेपाली गीतहरु चर्चित छन् ।
Categorized in पेजथ्री




