arin enterprises

बिजु बने ’सुथसिया निभाः’ कभर प्रतियोगिताका विजेता

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ चैत्र २४, मंगलबार

गायक पुरुषोत्तम श्रेष्ठको गीत ’सुथसिया निभाः’ गित कभर प्रतियोगिताको विजेता घोषणा गरिएको छ ।

कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ को आयोजक कन्फराक्टीभ मिडिया सोलुसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरिएको हो ।

प्रतियोगितामा बिजु श्रेष्ठ प्रथम भइन् । प्रथम हुने बिजुलाई एउटा गीत रेकर्डिङको साथै म्यूजिक भिडियो छायांकनको पुरस्कार जितेकी छन् ।

केशव तण्डुकार दोस्रो, मीना प्रजापति तेस्रो भए भने मोहन दास श्रेष्ठले सान्त्वना पुरस्कार जिते । दोश्रो, तेश्रो र सान्त्वना पुरस्कार विजेताहरुले एक, एक वटा गीत रेकर्डिङ पुरस्कार प्राप्त गर्नुहुनेछ ।

वरिष्ठ संगीतकार अमरराज राजोपाध्याय, बुद्ध सायमि र सुमन कपाली सम्मिलित निर्णायक मण्डलंले प्रतियोगिताको विजेताहरु चयन गरेका हुन् ।

प्रतियोगीता अवधिभर सहभागी मध्येमा फेसबुकमा सबैभन्दा लाइक गरिएकी सहभागी प्रतियोगी कृष्णा श्रेष्ठ र युट्युबमा सबैभन्दा बढि हेरिएको चनेलाल मानन्धरलाई पनि गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

कृष्णा श्रेष्ठको भिडियोलाई फेसबुकमा १३ सय भन्दा बढि लाइक गरिएको थियो भने मानन्धरको भिडियो युट्युबमा ७ हजार ७८२ भ्यूज थियो ।

प्रतियोगीताको विशेष सहभागिको रुपमा तीन जना बाल सहभागीहरु गौरव मणि शर्मा (४ वर्ष), निर्भिक अमात्य (६ वर्ष) र सात्विक राज शर्मा (८ वर्ष) लाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी प्रतियोगीताको सबैभन्दा जेष्ठ सहभागी ७६ वर्षीया गौरीबाबा शर्मा र नेवाः इतर समुदायका सहभागि सैलेन्द्र थापा मगरलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कन्फराक्टीभ मिडियाका अध्यक्ष साथै प्रतियोगीताका संयोजक बिराजकाजी राजोपाध्यायले नयाँ प्रतिभाको खोजी गरी समाजको अगाडी ल्याउन प्रतियोगीताको आयोजना गरिएको बताए ।

कार्यक्रममा सुथसिया निभाः गीतका गायक श्रेष्ठको साथै सुरजबीर बज्राचार्य, भीम तुलाधरले गीत प्रस्तुत गरेका थिए भने मिनर्वा शर्मा राजोपाध्यायले चर्या नृत्य प्रस्तुत गरेकी थिइन् ।

Categorized in पेजथ्री