arin enterprises

गुथि विधेयकको विरोधमा मंगलबजारमा मानव सागर

SamacharDesk – कल्चर ब्यूरो | २०७६ जेठ ३१, शुक्रबार

विश्व सम्पदा सूचीमा सुचिकृत स्थान ललितपुरको मंगलबजार दरवार क्षेत्र । विहिबार साँझमा त्यहाँको माहौल तातिएको थियो । सरकारले संसदमा पेश गरेको गुथि सम्बन्धि विधेयकको विरोधमा गुथियार, सरोकारवाला साथै गुथि संस्कृति प्रेमीहरु हजारौंको संख्यामा मंगलबजारमा भेला भएका थिए ।

मञ्चमा आदिवासी जनजाति वकिलहरुको समूह लाहुर्निपका शंकर लिम्वु उभिरहेका थिए । उनले भने, ‘म प्रधानमन्त्रीज्यूलाई चुनौती दिन्छु, आउनुस्, तपाईँहरुकै विधेयकलाई लिएर यो जनसागरसँग अन्तक्र्रिया गर्नुस् । मात्र आधा घन्टा टिकेर देखाउनु ।’ तालीको आवाजले वातावरण झन जोशियो ।

‘हामी केही गर्ने छैनौं । हाम्रो प्रदर्शन शान्तिपूर्ण नै हुनेछ, जस्तो माईतीघरमा थियो । तपाईँले यो विधेयक सहि छ भनेर प्रमाणित गरेर मात्र देखाउनु’ लिम्बुले थप्दै गए । लिम्बुको हरेक भनाईसँगै ताली र सिट्टिको आवाज झन ठुलो हुँदै गयो ।

उनले फेरी प्रश्न तेर्साए, ‘यी नेता भनाउँदाहरु चप्पल लगाएर काठमाडौं छिरे । आज यिनीहरुसँग एकैपटकमा गाडी, वङ्गला कताबाट आयो ?’ लिम्बुले भन्दै गए चप्पल एकजोरमा काठमाडौं आएका यिनीहरु गाडी चढ्ने अनि यिनीहरुको गाडी गुडाउन सडक पुगेन भनेर नेवाःहरुको घर भत्काउन आउने ?’

एकैसाथ सबैले नारा घन्काउन थाले, ‘गुथि विधेयक खारेज गर, खारेज गर ।

सरकारले गुथि संस्थान खारेज गर्दै राष्ट्रिय गुथि प्राधीकरण गठन गर्ने उद्देश्यले संसदमा दर्ता गराएको गुथि सम्बन्धि कानूनलाई एकिकरण र संशोधन गर्न बनेको विधेयकको विरोधमा आज ललितपुरको मंगलबजारमा विरोध सभा भएको थियो । ललितपुरका जातीय संघ संगठनहरुको संयुक्त आयोजनामा भएको विरोध सभामा वक्ताहरुले सरकारले होली वाइन छर्केर यहाँको स्थानीय धर्म, सँस्कृति मास्न खोजेको आरोप लगाए ।

मन्तव्यको क्रममा नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले शान्तिपूर्ण प्रदर्शनमा दमन गर्न लगाउने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । साथै भूमि सुधार मन्त्री पद्मा अर्यालको पनि राजीनामा माग गरे ।

सोही सभामा ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले विधेयक फिर्ता नभएसम्म निरन्तर विरोधमा बढिरहने बताए ।

ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार यो विधेयक विरुद्ध आन्दोलन अब देशैभर चर्किने दावी गर्नुभयो । 

‘गुथि विधेयक विरुद्धको आन्दोलन आज ललितपुरमा शुरु भयो । भोलि भक्तपुर उठ्नेछ, धरान उठिसकेछ, किर्तिपुर उठिसकेछ, भारतबाट, अमेरिकाबाट, बेलायतबाट धमाधम विरोध शुरु भइसक्यो । सरकारले अहिल्यै गलती नसच्याए परिणामको जिम्मेवार सरकार आफै हुनेछ’ ताम्रकारको भनाई थियो ।

गुथि सम्बन्धि विधेयकको विरोधमा चौतर्फि विरोध प्रदर्शन हुन थालेको छ । ललितपुरमा शुक्रबार साँझमा पनि विरोध जुलुस निकालिने जनाइएको छ भने भक्तपुरमा पनि शनिबार साँझमा र्याली निकालिने श्रोतले जानकारी दिएको छ ।

Categorized in राष्ट्रिय