arin enterprises

गुथि विधेयकको विरोध झनै चर्किँदै

SamacharDesk – करुण शर्मा | २०७६ आषाढ १, आइतबार

सरकारले संसदमा पेश गरेको गुथि विधेयकको विरोध झन चर्किँदै गइरहेको छ । गुथि विधेयकको विरोधमा विशेष गरी काठमाडौं उपत्यका तातिएको छ भने दिनहुँ जसो प्रदर्शन, मसाल जुलुस, सभाहरु भइरहेका छन् । यसै क्रममा भोलि नेवाः संघको आयोजनामा काठमाडौंको बाङ्गेमुढा चोकमा पनि एउटा सभा हुन गइरहेको छ ।

भोलि असार २ गते सोमबार ‘गुथि विधेयक र नेवाः सरोकार’ विषयक सभा हुन गइरहेको हो । सभालाई आन्दोलनका अगुवाहरुको साथै गुथि संस्थानका पूर्व अध्यक्षले समेत सम्वोधन गर्ने बताइएको छ ।

सभालाई नेवाः राजनीतिक अभियानका अध्यक्ष डा. महेशमान श्रेष्ठ, अधिवक्ता जितेन्द्र बज्राचार्य, अधिवक्ता रमेश महर्जन र गुथि विधेयक विरुद्ध संघर्ष समितिका संयोजक सत्यनारायण डंगोलले सम्वोधन गर्ने बताइएको छ ।

साथमा यसै सभालाई गुथि संस्थानका पूर्व अध्यक्ष पञ्चलाल महर्जनले पनि सम्वोधन गर्ने जनाएको छ ।

गुथि विधेयकको विरुद्धमा आन्दोलन चर्किँदै गर्दा राज्य पक्षबाट भने आन्दोलन विरुद्ध अभिव्यक्तिहरु आउने गरेका छन् । केही दिन अघिमात्र संचारमन्त्री साथै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुथिलाई सामन्तवाद भनेकोमा सत्तारुढ नेकपाकै सांसद रामवीर मानन्धरले समेत विरोध जनाएका थिए । सांसद मानन्धरले या त सामन्तवाद भन्ने शब्द फिर्ता लिुनपर्ने नभए राजीनामा नै दिनुपर्ने माग गरेका थिए ।

यसैक्रममा सत्तारुढ नेकपाका सांसद शान्ता चौधरीले माईतीघरमा भाडाका मान्छेहरुबाट विरोध प्रदर्शन भएको भन्ने अभिव्यक्तिमा सामाजिक संजालमा चर्को विरोध देखिएको छ ।

Categorized in समाज