गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परिक्षण उडान सुरु
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ६, शुक्रबार

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ ।
सबै काम सम्पन्न भएमा व्यावसायिक रुपमा बुद्ध पूर्णिमादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाईको विमान बिहीबार साँझ आइपुगेको छ । थाइल्यान्डबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान आइपुगेको विमान बेलुकी ५ बजे गौतम बुद्ध विमानस्थलमा अवतरण भएको हो । परीक्षणका लागि चालक, सहचालक, प्राविधिकसहित सात जनाको टोली आएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिनुभयो ।
कुनै पनि नयाँ विमानस्थल सञ्चालनमा आउनुपूर्व विमानस्थलमा जडान गरिएका हवाई उपकरणहरू परीक्षणका लागि गरिने उडान नै क्यालिबे्रसन उडान हो । क्यालिबे्रसन उडानपछि जडित उपकरणहरूले सही तरिकाबाट काम गरे या नगरेको तथा कुनै कमजोरी भए त्यो पत्ता लगाउन सकिने प्राधिकरणका सीएनएस विज्ञ मुकुल मिश्रले जानकारी दिनुभयो ।
क्यालिबे्रसनका लागि आएको एरो थाईको उक्त जहाज फागुन १६ गतेसम्म नेपालमा रहनेछ । जहाजले यहाँ रहँदा एक हप्तासम्म क्यालिबे्रसन उडान गर्नेछ । उक्त उडान दैनिक छ घन्टासम्म हुनेछ । बिहान १० बजेदेखि हुने उक्त उडानको अवधिमा अन्य उडान भने हुने छैनन् ।
१० दिनसम्म क्यालिब्रेसन फ्लाइट भइसकेपछि नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडान गरिने छ । परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिने छ।
Categorized in राष्ट्रिय