घर फर्किन् नेपालकी दोश्रो कोरोना संक्रमित युवती
SamacharDesk – विकाश | २०७७ बैशाख ६, शनिबार

नेपालकी दोस्रो कोरोना संक्रमित युवती उपचार पछि निको भएर घर फर्किएकी छन् ।
चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएर अस्पताल भर्ना भएकि १९ वर्षीया युवती शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
डिस्चार्ज हुने बेलामा संचारमाध्यममा बोल्दै उनले २७ दिन अस्पताल बस्दा डाक्टर नर्स लगायतका स्वास्थ्यकर्मीबाट राम्रो सहयोग पाएको भन्दै सबैलाई कृतज्ञता पोखिन् ।
आफ्नै व्यक्तिगत अनुभवको आधारमा बाहिरबाट आउनेहरु सेल्फ आइसोलेसनमा बस्नु नै निकै महत्वपूर्ण रहेको भन्दै सबैलाई परिक्षण गर्न पनि आग्रह गरिन् ।
आफु शुरुदेखि नै सेल्फ आइसोलेसनमा बसेको बताउँदै हरेकले त्यसरी वातावरण हुन नसक्ने भएकोले सबैलाई चाँडो भन्दा चाँडो सहयोग गरी संक्रमण नियन्त्रणमा सहयोग गर्न उनले सरकारलाई आग्रह गरिन् ।
यो रोगसँग जित्न आत्मबल नै सबभन्दा ठुलो औषधी भएकोले संक्रमितहरुको आत्मबल बढाउन संचारमाध्यम र आम सर्वसाधारणलाई पनि उनले अपील गरिन् ।
आफु शुरुदेखि नै अनुशासनमा बसेकोले नै परिवार र समाजमा आफुबात संक्रमण फैलिन नपाएको भन्दै सामाजिक संजालमा नकारात्मक र भ्रामक टिप्पणीहरु देख्दा निकै दुःख लागेको बताइन् ।
हल्लाको पछि लागेर नकारात्मक टिप्पणी गर्नुभन्दा संक्रमितको आत्मबल बढाउन सकारात्मक सन्देशहरु प्रवाह गर्न उनले सबैलाई आग्रह गरिन् ।
सकेसम्म मास्क, पंजा, चश्मा लगाएर सुरक्षित रहन र सरकारको साथै सम्बन्धित निकायहरुबाट जारी हुने सूचनाहरु अध्ययन गरेर सतर्क भइ संक्रमणबाट बच्न पनि उनले अपील गरिन् ।
नेपालमा गम्भीर प्रकृतीका विरामी नदेखियोस् र देखिहालेमा आफुले दान गरेको प्लाज्माबाट स्वास्थ्य लाभ पनि होस् भनेर उनले सहयोग गरोस् भनी कामना पनि गरिन् ।
कोरोना संक्रमणबाट निको भएको व्यक्तिको रगत संक्रमितलाई प्लाज्मा ट्रिटमेन्टको लागि उपयोगी हुने जनाइएको छ ।
उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताएका छन् ।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् ।
उनी फ्रान्सबात फर्किदा कतारसम्म सँगै जहाजमा आउने भियतनामको साथीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि चैत ९ गते परिक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन् ।
त्यहाँ नमुना जाँच गर्दा उनमा पनि कोरोना संक्रमण देखिएको थियो ।
उनी आएको कतार एयरवेजको क्यू आर ६५२ को जहाजमा नेपाल आएका बागलुङका अरु दुई जना नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु धौलागिरि अस्पतालमा उपचाररत छन् ।
गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए । उनी पनि ठीक भएर घर फर्किसकेका छन् ।
नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।
Categorized in राष्ट्रिय