arin enterprises

चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानमा के.पी.पाठक

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ भाद्र १७, आइतबार

नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको अध्यक्ष पदमा के.पी.पाठकलाई सर्वसम्मत चयन गरेको छ । शनिबार काठमाण्डौंमा सम्पन्न प्रतिष्ठानको प्रथम साधारण सभाले सात सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको हो । 

साधारण सभाले चयन गरेको नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा विजयरत्न तुलाधर, महासचिव राजु के.सी., सचिव राजु भण्डारी, कोषाध्यक्ष कमलप्रसाद शर्मा र सदस्यहरुमा विश्वराज सापकोटा र रसिक पाठकलाई सर्वसम्मत चयन गरेको हो । 

सोभन्दा अघि, सभाको उद्घाटन सत्रमा प्रतिष्ठानका तदर्थ समिति अध्यक्ष के.पी.पाठकले विश्वको चलचित्रलाई नेपाली चलचित्र जगतसँग परिचित गराउन प्रतिष्ठानले भूमिका खेल्ने बताउनुभयो । यही उद्देश्य परिपुर्तिकालागि गत वर्षदेखि नै प्रतिष्ठानले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्न थालेको पनि पाठकले जानकारी दिए । 

सभामा तदर्थ समितिका सचिव राजु भण्डारीले प्रतिष्ठानको वार्षिक प्रगती प्रतिवेदन र कोषाध्यक्ष कमलप्रसाद शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै गरी सो प्रतिष्ठानले यही आउने फागुन महिनामा सम्पन्न गर्ने लक्ष्य लिईएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करणका लागि चलचित्र छनौट गर्न उपाध्यक्ष विजयरत्न तुलाधरको संयोजकत्वमा छनौट समिति पनि गठन गरेको छ । विश्वका विभिन्न देशबाट प्राप्त हुने चलचित्रहरु छनौट गर्नकालागि चलचित्र पत्रकार, निर्देशक समेत रहेका तुलाधरको संयाजकत्वमा गठित छनौट समितिलाई शनिबार नै पदभार समेत हस्तान्तरण गरिएको थियो । 

छनौट समितिमा वरिष्ठ सूचना प्रविधी विज्ञ करुण थापा, ध्वनिविद् आलोक तिवारी, चलचित्र निर्देशक रामराजा दाहाल, चलचित्र छाँयाकार शबनम मुखिया, साहित्य समालोचक अभय श्रेष्ठ र चलचित्र पत्रकार सुशील पौडेल सदस्य रहेका छन् ।

Categorized in पेजथ्री