arin enterprises

छुट्टै प्रेस ईजलास हुनुपर्ने श्रेष्ठको भनाई

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ भाद्र ७, बिहिबार

नेपाल प्रेस काउन्सीलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले प्रेसको पनि छुट्टै ईजलास हुनुपर्ने बताउनुभएको छ । आज प्रेस काउन्सीलमा आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले प्रेसलाई राज्यले नियन्त्रण गर्न नहुने बताउँदै प्रेस सम्बन्धि मुद्दामामिला हेर्न प्रेसको छुट्टै ईजलास हुनुपर्ने माग आफ्नो रहेको बताउनुभयो ।

भाद्र १ गतेदेखि लागू गरिएको मुलुकी देवानी (संहिता) ऐन २०७१ सम्बन्धित चर्चा र पत्रकार आचारसंहिताका सन्दर्भमा काठमाडौंमा आज प्रेस काउन्सील र पत्रकारहरुबीच अन्तक्र्रिया कार्यक्रम भएको हो । 

श्रेष्ठले प्रेस स्वतन्त्रतामाथि कुनै पनि आचारसंहिताले अंकुश लगाउन नसक्ने दावी गर्दै सत्य समाचार सम्प्रेषणमा पत्रकारले कुनै डर, त्रास लिनुनपर्ने बताउनुभयो । हाल जारी गरिएको संहिता ऐनले प्रत्यक्ष रुपमा कतै उल्लेख नगरे पनि पूर्ण प्रेस स्वतन्त्रताका मान्यतालाई कतै कुण्ठित गर्न खोजिएको हो कि भन्ने आशंका जन्माएको बताए ।

नेपालका विभिन्न भाषिक तथा स्थानीय सञ्चारकर्मीहरुले आफ्ना समुदायको पहिचानलाई उजागर गर्न आवश्यक भएतापनि अन्य समुदायसँगको जातिय र सामाजिक सदभावलाई समाचार सम्प्रेषणले नकारात्मक असर पुर्याउन सक्ने तर्फ संवेदनशील हुन उनले आग्रह गरे । जवाफदेही, मर्यादित र निष्पक्ष पत्रकारिताका लागि आचारसंहिताको पालना आवश्यक रहेकोमा पनि श्रेष्ठले जोड दिए । 

कार्यक्रममा काउन्सिलका सचिव एवं मुख्य अधिकृत झविन्द्र भुषालले पत्रकार आचारसंहिताबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष श्रीकृष्ण महर्जन, काउन्सीलका बोर्ड सदस्य शुभेच्छाविन्दु तुलाधरले काउन्सिल र पत्रकारबीचको सम्बन्धको महत्वबारे बोल्दै आगामी दिनमा यस्तै थप कार्यक्रम आयोजनाकालागि सहकार्य जारी रहने उल्लेख गरे ।

कार्यक्रममा विभिन्न संचार गृहमा आवद्ध दुई दर्जनभन्दा वढि पत्रकारहरुको उपस्थिती रहेको थियो ।

‘काउन्सिलसँगै पत्रकार’ नारा सहित उक्त कार्यक्रम नेपाल प्रेस काउन्सिलको आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबूको संयोजनमा सम्पन्न भएको हो ।

Categorized in राष्ट्रिय