ट्यालेन्ट शोकै कारण कलाकार बनेकोमा पछुतो
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख १२, बिहिबार

लुकेका प्रतिभा उजागर गर्नलाई भन्दै आयोजना हुने विभिन्न ट्यालेन्ट शोहरुकै कारण नवप्रतिभाहरु निराश हुने तथ्य सार्वजनिक भएको छ । हाल संचालन भइरहेको ‘नेपाल गोल्डन आइडल’ नामक ट्यालेन्ट सोको सिजन ६ का एक फाइनलिस्ट स्रजल महर्जनले यहि शोका कारणले आफुलाई कलाकार बनेकोमा पछुतो लाग्न थालेको बताए ।
बुधबार ललितपुरमा आयोजना भएको पत्रकार सम्मेलनमा महर्जनले आफुले कलाकारिता क्षेत्र रोजेर अभिभावकलाई दुःख पो दिएँ कि भन्ने अनुभव हुन थालेको बताए । उक्त ट्यालेन्ट शोबाट प्रतिस्पर्धीहरुलाई साथै प्रतिस्पर्धीका अभिभावकलाई परेको अािर्थक भारको साथमा मानसिक तनाव समेतको कारण आफुलाई पछुतो लाग्न थालेको महर्जनको भनाई थियो ।
सयौंको संख्याबाट छानिएर टप ६ मा पुग्न सफल महर्जन आयोजकले ५०० भन्दा माथिको रकममा ५०० वटा टिकट विक्री गर्नुपर्ने नत्र प्रतियोगीता निकालिदिने बताएपछि उक्त प्रतिस्पर्धा वहिष्कार गर्दै बाहिरिएका हुन् । ‘म त केही सिक्न पाइएला कि भनेर गएको थिएँ । तर मेरो कारणले मेरो अभिभावकलाई ठुलो आर्थिक भारको साथमा मानसिक तनाव पनि भयो । मैले आफैंले पनि धेरै तनाव झेलें । यस्ता प्रतियोगीताहरु आयोजना हुनुभन्दा बरु नहुनु बेश’ महर्जनको भनाई थियो ।
प्रतियोगीताको दौरान विभिन्न स्थानमा कार्यक्रमहरु आयोजना गरिँदा अन्य प्रतिस्पर्धीलाई ३ वटा सम्म पनि गीत गाउन लगाइँदा आफुलाई गाउनबाट वञ्चित गराइने, लगातार कयौं दिन कार्यक्रमहरु हुँदा प्रतिस्पर्धीहरुलाई सुत्न, खानसम्म पनि नदिने, गालीगलौज गर्ने, दुव्र्यवहार लगायतका तनावहरु दिएको महर्जनले जानकारी दिए ।
‘शुरुमा ५० वटा टिकट बेच्नुपर्ने भनियो, फेरी २० वटा बेच्न भनियो र अन्तिममा त ५०० वटा टिकट हातमा थमाइयो । पोखरामा हुने कार्यक्रमको ५०० वटा टिकट मैले यहाँ बेचेर मैले बस रिजर्भ पोखरामा कार्यक्रम देखाउन लग्नु ?’ स्रजलका अभिभावक सुरोज महर्जनले आक्रोश पोखे ।
मूल्य उल्लेख नगरिएको टिकट ५०० भन्दा माथिको रकममा बेच्नुपर्ने नत्र प्रतिस्पर्धीलाई प्रतियोगीताबाट निकालिदिने भन्दै आफुलाई दवाव दिएको सुरोजले बताए । आफुले टिकट बेच्न नसकिने बताएपछि आयोजकले आफ्नो छोरालाई विभिन्न स्थानमा भएका कार्यक्रमहरुमा स्टेजमा नै जान नदिएको सुरोजको भनाई थियो ।
टिकट विक्रि गरेको वा नगरेकै आधारमा हार र जित हुने र प्रतिभावान कलाकारहरु निराश हुनुपर्ने वातावरणको अन्त्य हुनुपर्ने सुरोजको भनाई थियो । कलाकारिताको नाममा आर्थिक लाभकै लागि हुने यस्ता यस्ता ठगीका धन्दा बन्द हुनुपर्ने जोडदार माग गर्नुभयो ।
आफ्नो स्थानमा कार्यक्रम आयोजना गर्नुपर्ने, कार्यक्रममा मायाको चिनो सहित सम्मान गर्नैपर्ने लगायतको नियम, अडिसनदेखि विभिन्न जिल्लाहरुमा आयोजना भएका कार्यक्रमहरुमा यातायात, खाने बस्ने सबै खर्च आफैले व्यहोर्नुपर्ने हुँदा धेरै ठुलो आर्थिक भार आफुले बोक्नुपरेको जानकारी सुरोजले दिनुभयो । कैयन अभिभावकले त भैंसी बेचेको, मोटरसाइकल बेचेको जानकारी आफुलाई दिएको पनि सुरोजले बताउनुभयो ।
नेटिभि प्लसमा प्रसारण भइरहेको नेपाल गोल्डन आइडल सिजन ६ को फाइनल आज पोखरामा हुँदैछ ।
Categorized in पेजथ्री