arin enterprises

ठमेलस्थित छायाँ कम्प्लेक्स जनताले भत्काउने चेतावनी

SamacharDesk – कल्चर ब्यूरो | २०७६ पौष २८, सोमबार

ठमेलस्थित छायाँ कम्प्लेक्स सरकारले नभत्काए आफैले भत्काउने चेतावनी अभियन्ताहरुले दिएका छन् । ऐतिहासिक सम्पदा कमलपोखरी मासेर बनाइएको भन्दै छाँयादेवी कम्प्लेक्स अभियन्ताहरुले भत्काएरै छाड्ने चेतावनी दिएका हुन् । 

काठमाडौंमा सम्पन्न साक्षात्कार कार्यक्रममा बोल्दै अभियन्ताहरुले ११ औं शताब्दीको ऐतिहासिक कमलपोखरी मासिंदा समेत गणतान्त्रिक सरकारले मौनता साँध्नु लज्जास्पद भएको बताए । अभियानको आन्दोलन जारी रहेको भन्दै छायाँ कम्प्लेक्स कसैले बचाएर बचाउन नसक्ने पनि उनीहरुको भनाई थियो ।

ठमेलस्थित पुरातात्विक कमलपोखरी पुनस्र्थापना अभियानका संयोजक भागवत नरसिंह प्रधानले  भने, ‘ऐतिहासिक पुरातात्विक कमलपोखरी रहेको ठाउँमा जसरी छायाँ कम्प्लेक्स बनाइएको छ त्यो सरकार नभत्काए जनताले भन्काउनेछन् ।’ 

१५ हजार व्यक्तिको हस्ताक्षरसहित प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकिएको जानकारी दिदै प्रधानले सम्पदामाथिको अतिक्रमणविरुद्ध कडा कदम चाल्न पछि नहट्ने जनाए । 

आफूहरु छायाँ कम्प्लेक्सबारे अदालतको फैसला कुरेर बसेको भन्दै त्यसपछि निर्णयमा पुग्ने जनाए । अदालतमा वर्षौं देखि न्यायको लडाईं लडिरहेको भन्दै कमलपोखरी कब्जा गर्नेहरुलाई कदापि सफल हुन नदिने जनाए ।

देशमा राणा शासनको अन्त नभएको महशुश भइरहेको छ

भवन बनाउँदा लाग्दा आफूहरुले सिंहदरबारदेखि काठमाडौं महानगरपालिका, पुरातात्व विभाग लगायतका ठाउँहरुमा आवाज उठाउँदा पनि सुनुवाई नभएको प्रधानको भनाई थियो । पोखरी मासेर स्थानीय नेवार समुदायको संस्कृतिमाथि आक्रमण गरिएको उनको आरोप थियो । 

जनताको विरोधका बाबजुद छायाँ कम्प्लेक्स उद्घाटनका लागि वर्तमान पर्यटनमन्त्री योगेश भट्टराई पछाडिको ढोकाबाट पुगेको घटना रेकर्डमा रहेको भन्दै उनीपनि जनताबाट अबको चुनावमा अस्वीकृत हुने चेतावनी दिए ।

प्रधानले भने, ‘सम्पदा जोगाउन सकिएन भने हामी कोही पनि जोगिदैनौं, त्यसैले सम्पदा विरोधीलाई घुँडा टेकाउने अभियानमा सबै आ आफ्नो स्थानबाट लागौं ।’

अभियानका सल्लाहकार सुरेन शाक्यले हाल छायाँ कम्प्लेक्स रहेको स्थानमा आफैले पनि पोखरी देखेको बताउँदै बलजफ्ती बनाइएको कम्प्लेक्स कुनै पनि हालतमा भत्काउनुपर्ने बताए । 

‘सांस्कृतिक सम्पदामा अहिले जसरी प्रहार भइरहेको छ, त्यो हेर्दा देशमा राणा शासनको अन्त नभएको महशुश भइरहेको छ’ शाक्यले भने ।

कम्प्लेक्स रहेको सो ठाँउमा विगतका दिनमा फागुपुर्णिमामा सात दिन सम्म मेला लाग्ने गरेको ठमेलका स्थानीय वासिन्दा नरेश श्रेष्ठले जानकारी दिए ।

श्रीकृष्ण मानन्धरले आफुलाई नेपाली हु भन्न राष्ट्रको सम्पदा बचाउन र छाँया सेन्टर भत्काउन सबैमा आग्रह गरेका थिए । अभियानका सचिव पेम्बा शिल्पकारले राष्ट्रिय सम्पदा माथि गरिएको अन्यायलाई जसरी पनि न्याय दिने दृढटा व्यक्त गरे ।

त्यस्तै छाँया सेन्टरबाट आफू पिडित भएको भन्दै पञ्चलाल मर्हजनले जालसाजीमा पारिएको जनाए । आफूले छायाँ सेन्टरमाथि गृह मन्त्रालयमा उजूरी दिने समेत बताए ।

हाल छायाँ कम्प्लेक्स रहेको स्थानमा विगतमा पोखरी हुने गर्दथ्यो । र ठमेलस्थित विक्रमशील महाविहार श्रीगरुड भगवानको पूजा गर्नका लागि सोही पोखरीबाट कमलको फुल टिप्ने गरिन्थ्यो ।

Categorized in संस्कृति