ठेक्कामा दिँदा पुनर्निर्माणको काम अलपत्र
SamacharDesk – सोसियल ब्यूरो | २०७५ फाल्गुण २५, शनिबार

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भुकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणको जिम्मा ठेक्कापट्टामार्फत ठेकेदारलाई गराईंदा अलपत्र परेको बताएका छन् । सडक पिचको काम गर्ने ठेकेदारलाई सम्पदा पुनर्निर्माणको काम गराईंदा अहिले गुणस्तरहीन निर्माण भएको मेयर महर्जनको भनाई छ ।
राजोपाध्याय समाजको पाँचौ साधारण सभामा बोल्दै महर्जनले ललितपुर महानगरभित्रका सम्पदाको पुनर्निर्माणको सवालमा ठेकेदारले रकम बुझेर लाने र काम अलपत्र छोड्ने गरेको बताउनुभयो । श्रीलंका सरकारको सहयोगबाट पुनर्निर्माण हुँदै गरेको बुङ्गमतिस्थित रातो मच्छिन्द्रनाथको मन्दिरम पनि टेण्डर प्रक्रियाबाट ठेक्कापट्टामा काम गराईँदा अलपत्र परेको उहाँको भनाई थियो । महानगर स्वयम्ले पुनर्निर्माणको जिम्मा पाए गुणस्तरिय निर्माण हुने उनको दावी छ ।
उपत्यकाका आदिवासी राजोपाध्याय ब्राम्हणहरुको छाता संगठन राजोपाध्याय समाजको पाँचौँ वार्षिकोत्सव कार्यक्रममा लामो समयदेखि साहित्य र कलाकारिता क्षेत्रमा सक्रिय सुशील राजोपाध्यायलाई सम्मान गरिएको थियो । राजोपाध्यायलाई समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले दोसल्ला ओढाउनुभयो भने मेयर महर्जनले सम्मानपत्र प्रदान गर्नुभयो ।
सोही कार्यक्रममा २०७४ को एसइइ परीक्षा उत्तीर्ण गरेका राजोपाध्याय विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन, राजकर्णिकार समाजका अध्यक्ष सुवर्णलाल राजकर्णिकार, ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार लगायतले विभिन्न जातीय समुदायबीचको एकताबाट समृद्ध समाजको निर्माण गर्न सकिनेमा जोड दिएका थिए ।
Categorized in समाज