डिफेन्डिङ च्याम्पियन नेपालले फेरी उपाधी जित्यो
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ बैशाख १५, आइतबार

नेपालले एसीसी अन्डर १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधी फेरी पनि जितेको छ । डिफेन्डिङ च्याम्पियन नेपालले थाईल्यान्डमा जारी प्रतियोगिताको फाईनलमा मलेसियालाई ५९ रनले हराउँदै उपाधि रक्षा गरेको हो ।
थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा भएको खेलमा नेपालले दिएको १ सय ४१ रनको चुनौती पछ्याउने क्रममा मलेसिया ३५ ओभरको ३४.५ ओभर खेल्दै सबै विकेट गुमाएर ८१ रनमै सिमित हुनपुग्यो ।
मलेसियाका लागि तिनजना ब्याट्समेनले मात्र दोहोरो अंकको रन जोड्न सफल भए । मोहम्मद हाजिक ऐमानले सर्वाधिक १८ रन बनाएको इनिङमा ओपनर वान मोहम्मद अजामले १६ रन र जिनेद्र मुरलीले १४ रन बनाए ।
मलेसियालाई सस्तो रनमै समेट्ने क्रममा नेपालका विशाल कुमार पटेलले ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै १८ रन दिए ।
दीपक बोहोराले पनि ७ ओभर बलिङ गरेर १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए ।
निखिल कुमार सिंहले ६ ओभरमा एक मेडन राख्दै ६ रन खर्चिएर १ विकेट हात पारे । क्रिश कार्कीले १ रन खर्चेर १ विकेट लिए ।
यसअघि टस जितेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभर खेलेर ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।
नेपालका लागि प्रसान्त महतले ५ वटा चौका सहित सर्वाधिक ४० रनको योगदान दिए । ओपनर दिपक बोहारा २३, सुसान्त थापा ५, आईस भट्टराई २, कप्तान विशाल विक्रम केसी १७, रोहन दुधराज विक ९ र विशाल कुमार पटेल २ रनमा आउट भए । साथै, कृष कार्कीले ९, निखिल कुमार सिंहले १३ र तिलक राजभण्डारीले ८ रन जोडे ।
मलेसियाका लागि सचिनु हेतेगेले ३, जिनेन्द्र मुरलीले २, अहमद अकमल अलिफ, सिद्धार्थ कार्तिक, मोहम्मद इमरुल असराफ र सर्वेन सुरेन्द्रनले समान एक एक विकेट लिए ।
Categorized in स्पाेर्ट्स