ताम्रकारले फुटसलको आयोजना गर्ने
SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ भाद्र २२, शुक्रबार

ताम्रकार समाजले तेश्रो ताम्रकार फुटसल प्रतियोगीता २०७५ को आयोजना गर्ने भएको छ । समाजले यहि भाद्र २३, ३० र असोज २ गतेका दिन सानेपामा फुटसल प्रतियोगीताको आयोजना गर्न लागेको हो ।
प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहनेछ । विभिन्न दशवटा कम्पनीले उक्त टिमलाई प्रायोजन गरी मैदानमा उतार्न लागेको समाजले जनाएको छ । प्रतियोगीतामा ७० भन्दा वढि खेलाडिहरुको सहभागीता रहने पनि आयोजकले जानकारी दिएको छ ।
समाजको युवा तथा खेलकुद उपसमितिको आयोजनामा हुन गइ रहेको प्रतियोगितामा महिला खुल्ला तथा अण्डर १४को खेलहरु पनि खेलाइने उपसमिति संयोजक सजेश ताम्रकारले बताउनु भयो । प्रतियोगिता संयोजक अभिन ताम्रकारले विगत भन्दा यस पटकको प्रतियोगीता अझ उत्कृष्ट हुने दावी गर्नुभयो ।
प्रतियोगीताका विजेता, उप विजेता टोलीले ट्रफिको साथमा नगद पुरस्कार समेत हात पार्ने छ । प्रतियोगीताको ट्रफि कलाकार केदार ताम्रकारले तयार पारेका छन् भने कलाकार ताम्रकारले ट्रफि समाजलाई हस्तान्तरण पनि गरिसकेका छन् ।
खेलको माध्यमबाट समाजमा भाइचार अभिवृद्धि गर्ने उद्देश्यले समाजले फुटसल प्रतियोगीताको आयोजना गर्दै आएको समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले समाचारडेस्कलाई बताउनुभयो । विभिन्न समाजका सदस्यले समेत सहभागीता जनाउनुले प्रतियोगीताको महत्व अझ बढेको अध्यक्ष ताम्रकारको भनाई थियो ।
समाजले २०७३ मा पहिलो र २०७४ मा दोस्रो ताम्रकार फुटसल प्रतियोगिताको सफल आयोजना गरेको थियो । समाजले युवा पुस्तालाई लक्षित गर्दै फुटबल, ब्याडमिन्टन, चेस, सडक दौड जस्ता प्रतियोगिताहरु आयोजना गर्दै आइरहेको छ ।
Categorized in स्पाेर्ट्स