दशैंको अवसरमा दिपकको वरपर सार्वजनिक
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन २४, बुधबार

गायक दिपक बज्राचार्यले दशैंको अवसर पारेर आफ्नो नयाँ गीत वरपर सार्वजनिक गरेका छन् । दशैंको माहौल देखाइएको गीतको म्यूजिक भिडियो दिपकले दशैंको पहिलो दिन घटस्थापनाकै दिन युट्यूब मार्फत सार्वजनिक गरेका हुन् ।
गायक बज्राचार्यकै आवाजसँगै संगीत रहेको गीतको शब्द उनकै रिदम ब्यान्डका रिकि शाक्यको रहेको छ । संगीत संयोजन रिदम ब्यान्डको रहेको छ । गीतको भिडियोमा नम्रता श्रेष्ठले अभिनय गरेकि छन् भने छायाङ्ककन सुगत र आदित्यको रहेको छ । दृश्य सम्पादन र निर्देशन भने अनुप पौडेलले गरेका छन् ।
पछिल्लो समय पप शैलीको गीतमा मौलिक नेपाली बाजाको फ्यूजन गर्न थालेका गायक दिपकले यसमा पनि सो प्रयोगलाई छोडेका छैनन् । यो गीतमा उनले सारङ्गी लगायत नेपाली बाजाहरुको प्रयोग त गरेकै छन् । यो गीतमा दिपकले कपडा बुन्ने तानको तालमा बनाएका छन् ।
भिडियोमा पनि तानले कपडा बुन्दै गरेको दृश्यसँगै दशैंको माहौल देखाइएको छ । साथीहरुको जमघटमा दशैंको उत्सव मनाईंदै गरेको दृश्यसँगै गीतको शुरुवातमै धुम्रपान, मध्यपान वा जुवातासलाई बढावा दिएको नभई सीमाभित्र रहेर चाड मनाउँ भन्ने सन्देश पनि दिन विर्सेका छैनन् ।
‘हरेक गीतमा केही नौलो दिउँ भन्ने सोच लिएर काम गर्छु । यो गीत मैले कपडा बुन्ने तानको आवाजले दिने तालमा बनाएको छु’ दिपकले भने, ‘म र मेरो टिमले सक्दो मेहनत गरेका छौं । दर्शक, श्रोताले पनि मन पराइदिनुहुनेछ भन्ने आशा छ ।’
Categorized in पेजथ्री