arin enterprises

दिदानमा फेरी भुवनदासकै नेतृत्व

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ माघ २०, आइतबार

नृत्य निर्देशक संघ नेपाल, केन्द्रीय समितिले फेरी पनि भुवनदास श्रेष्ठकै नेतृत्व पाएको छ । आज काठमाडौंमा सम्पन्न संघको दोश्रो साधारण सभाले भुवनदासलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

अध्यक्षमा चयन भएसँगै श्रेष्ठले नृत्य निर्देशकहरुको पहिचान स्थापित गर्नुका साथै हक अधिकारको लागी अझ सशक्त ढंगले अगाडि बढ्ने बताउनुभयो । अग्रजलाई सम्मान र नयाँ पुस्तालाई हौसलाका लागी हुँदै आएका गतिविधिहरुलाई अझ व्यवस्थित र प्रभावकारी ढंगले निरन्तरता दिइने पनि श्रेष्ठको भनाई थियो ।

दोश्रो साधारण सभाले १५ सदस्यीय कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो । नयाँ कार्यसमितिमा प्रदीपमान श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको छ भने संजय शर्मा राजोपाध्याय उपाध्यक्ष भावना कार्कीलाई महिला उपाध्यक्ष बनाएको छ ।

त्यसैगरी नृपध्वज खत्री फेरी पनि महासचिवमा रहेका छन् भने ज्ञानबहादुर महर्जन सचिव र रवि राना मगर सह सचिवमा चयन भएका छन् । विगतमा सह कोषाध्यक्ष पदमा सक्रिय शारदा सोती शर्मा नयाँ कार्यसमितिमा कोषाध्यक्ष बनेकि छिन् भने केशव कोईराला सह कोषाध्यक्षमा चयन भए ।

६ सदस्यमा याम गुरुङ, शम्भु शाही, ऋषिकेश श्रेष्ठ, रोहीया महर्जन, स्वयत्ना योञ्जन, प्रमिला कार्की ढकाल रहेका छन् ।

नव निर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत सन्तोष राना मगरले प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । त्यसैगरी उम्मेदवारी दर्ता शुल्कबाट संकलित रकमबाट २० हजार रुपैयाँ निर्वाचन कमिटिका सदस्य पत्रकार बिराजकाजी राजोपाध्यायले नवनिर्वाचित शारदा सोती शर्मालाई हस्तान्तरण गर्नुभयो ।

सोभन्दा अगाडी, संस्थापक सदस्य र पदाधिकारीहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।

Categorized in पेजथ्री