arin enterprises

देशैभरका नेवारहरु यःमरि पुन्हि मनाउँदै

SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर २६, बिहिबार

आज मार्गशीर्ष शुक्ल पुर्णिमा, देशैभरका नेवार समुदाय यःमरि पुन्हि मनाउँदैछन् । आज नेवाःहरु घरघरमा यःमरि पकाएर खाने र ख्वाउने गर्छन् ।

आजको दिनमा नयाँ बाली भित्र्याइ सोही चामलको पिठोबाट यःमरि बनाएर खाने गरिन्छ । साथमा उक्त भित्र्याइएको बालीको साथै यःमरि, ल्वंचामरि, कुबेर, गणेश, लक्ष्मी, बिमिरो आदि समेत भकारीमा राखेर पूजा गरिन्छ ।

यसरी पूजा गरिएको सामग्री आजबाट चार दिनपछि घरको छोरीबेटिले निकाल्ने गर्छन् । यसलाई स्वां क्वकायेगु भनिन्छ ।

यःमरि पुन्हिको दिनबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुर्णिमा समेत भनिन्छ ।

आजकै दिनमा साँझपख समूह समूह मिलेर गीत गाउँदै घरघरमा यःमरि माग्न जाने चलन पनि रहेको छ । यसरी यःमरि माग्न जानेलाई त्यःछिंत्यः भनिन्छ । त्यःछिंत्यःको चलन भने अचेल हराउँदै गएको छ ।

ज्यापु समुदायले भने आजको दिनलाई ज्यापु दिवसको रुपमा मनाइरहेका छन् । ज्यापु दिवसको अवसरमा ज्यापु सँस्कृति विकास कोषले काठमाडौंको वसन्तपुरमा भव्य समारोहको आयोजना गरेको छ ।

यसैगरी किराँत समुदायले भने आजको दिनलाई उधौली पर्वको रुपमा मनाउने गर्छन् ।

नेवार समुदायमा यःमरि पुन्हिसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चाल देशमा सुचन्द्र नाम गरेका दानी, परोपकारी महाजन आफ्नो परिवारसँग बस्दथे ।

एकदिन कुबेरलाई उत्त महाजनको परिक्षा लिन मन भएछ । कुबेरले एक दरिद्रको भेष बनाएर सुचन्द्रको घरमा पुगेछन् । 

घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिस भिक्षा माग्न आएको देखी सुचन्द्र र उनकी पत्नीले भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिएछन् । 

सुचन्द्र र उनकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रुपको दर्शन दिए र ज्ञानको साथमा एउटा बिमिरो समेत प्रदान गरी अन्तर्ध्यान भए । 

कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको रोटी यःमरि अनि त्यहि चामलको पिठोको कुवेर समेत बनाई अन्न राख्ने भकारीभित्र राखेर पूजा गरिछन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् । 

यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।

Categorized in संस्कृति