धर्मराजको बुंगाःचा सार्वजनिक
SamacharDesk – साहित्य ब्यूरो | २०७६ बैशाख ६, शुक्रबार

वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले अरुको अनुकरण गर्दा आफ्नो पहिचान गुमाउन नहुने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा डा. जोशीले अरुबाट सिक्दै आयातितमा पनि आफ्नो मौलिकता मिसाई आफ्नै बनाउन सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपालभाषा साहित्य क्षेत्रका हाइजिन धर्मराज राजकर्णिकारको हाइकु संग्रह पुस्तक ‘बुंगाःचा’को विमोचन गर्दै डा. जोशीले साहित्य क्षेत्रका थुप्रै विधा विदेशबाटै भित्रिएको भन्दै ढङ्ख मात्र आयात गरी प्रस्तुतिमा माटो सुहाउँदो मौलिकता हुनपर्ने बताउनुभयो ।
जापानबाट आयातित हाइकुमा नेपालीपन कसरी देखाउने भन्नेमा नेपाली हाइजिनहरुले बिचार पुर्याउनुपर्ने बताए ।
सोही अवसरमा साहित्यकार केदारमान व्यथितले नेपालभाषाको सनेट रचना गर्दै पाश्चात्य साहित्यलाई नेपालभाषा साहित्य क्षेत्रमा भित्य्राएको स्मरण गर्नुभयो ।
विमोचित कृति ‘बुंगाःचा’का रचनाकार धर्मराज राजकर्णिकारले अमेरिकामा हरेक ३ वर्षमा आयोजना हुने हाइकु फिल्म फेस्टिभल र हरेक २ वर्षमा हुने म्यूजिक हाइकुमा नेपालको सहभागिताको लागि आफु प्रयासरत रहेको जानकारी दिनुभयो ।
सोही कार्यक्रममा गायक सुमन कपाली र गायिका रत्नशोभा महर्जनले राजकर्णिकारबाट रचित हाइकुलाई संगीतवद्ध गर्दै गीतको रुपमा प्रस्तुत गरेका थिए ।
देगः म्हिचा सफूबाट प्रकाशन भएको बुंगाःचामा राजकर्णिकारबाट रचित ५६ वटा हाइकु समाविष्ट छन् । विश्व हाइकु दिवसको अवसरमा उक्त पुस्तक प्रकाशन गरिएको देगः म्हिचा सफूका संयोजक भरत सायमिले जानकारी दिनुभयो ।
हरेक वर्ष अप्रिल १७ का दिन संसारभरि विभिन्न देशहरुमा विश्व हाइकु दिवस मनाइन्छ ।
Categorized in पेजथ्री