arin enterprises

निःशुल्क शिक्षाको प्रावधानप्रति एन प्याब्सनको विरोध

SamacharDesk – एजुकेशन ब्युरो | २०७५ आश्विन ६, शनिबार

अनिवार्य तथा निशुल्क शिक्षा ऐनको निःशुल्क शिक्षासहित विभिन्न प्रावधानप्रति असहमति जनाउँदै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपाल ललितपुर जिल्ला समितिले प्रधानमन्त्रीको केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । संघीय व्यवस्थापिका संसद्बाट हालै पारित सो ऐनका प्रावधानमध्ये निजी विद्यालयका संगठनहरुले विरोध गरिरहेको सन्र्दभमा सो ध्यानाकर्षण गराइएको हो ।

एन प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटा, महासचिव सुवास न्यौपानको हस्ताक्षर भएको ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय ललितपुरमा बुझाई प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको हो । समितिका अध्यक्ष राजेश महर्जनले सहायक प्रमुख जिल्ला अधिकारी निरौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने भन्ने प्रावधानमा संशोधन गर्न माग गर्नुभयो ।

निजी विद्यालयलाई  कम्पनी वा गुठी ऐन अनुसार सञ्चालन हुने व्यवस्था मिलाई तोकिएको छात्रवृति बाहेक अन्य निशुल्क हुने व्यवस्था मिलाउनुपर्ने मुख्य माग रहेको पनि अध्यक्ष महर्जनले बताउनुभयो । 

निजी विद्यालयले पनि व्यक्ति वा संस्थाबाट दिईने कुनै पनि सहायता प्राप्त गर्नसक्ने बनाउनुपर्ने, निःशुल्क शिक्षाको सम्बन्धमा संविधानको धारा ३१ (१) शिक्षाको हक र धारा ४० को दलितको हक मात्र नभई धारा २५ (१) को सम्पति र धारा ४४ (१) को उपभोक्ताको हकपनि आकर्षित हुनुपर्ने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । एन प्याब्सनले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने प्रावधान सार्वजनिक विद्यालयमा मात्र लागू गनुपर्नेमा पनि जोड दिएको छ ।

पत्रमा निजी लगानीका विद्यालयलाई व्यवस्थित गर्न छुट्टै ऐनको व्यवस्था गर्नुपर्ने, बालविकास शिक्षादेखि माध्यमिक तहसम्मको निःशुल्क शिक्षामा साविकै १० प्रतिशत छात्रवृति कायम गर्नुपर्ने पनि पत्रमा भनिएको छ । ज्ञापनपत्रमा छात्रवृति दिन निजी विद्यालयलाई बाध्य पारिँदा गाडी, जग्गा, भाडा, आर्जित सम्पति जस्तामा करहरु छुट गर्नुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी उच्च स्तरीय शिक्षा आयोग तथा सम्बन्धित सबै निकायमा निजी विद्यालयका आधिकारिक संगठनका प्रतिनिधित्व गराईनुपर्ने, प्राविधिक शिक्षा पठनपाठन गराउनुपर्ने व्यवस्था गर्नुपर्ने पनि माग गरिएको छ ।

Categorized in राष्ट्रिय