निशुल्क एम्बुलेन्सबाट १ सय ५० बढीले पाए सेवा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ७, आइतबार

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगबाट सञ्चालित निःशुल्क एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेको छ ।
एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले सेवा सुरु गरेको ६ दिनमै १ सय ५० बढीलाई सेवा दिइसकेको जानकारी दिनुभयो ।
‘मुख्य गरेर डायलोसिस गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सले आजसम्म तीन सय बढी पटक सेवा दिएका छन्,’ उहाँले भन्नुभयो, ‘व्यक्तिको संख्या हिसाव गर्दा एक सय ५० जनालाई सेवा दिएका छौँ । उहाँहरुलाई घर वा डेराबाट अस्पताल र उपचारपछि अस्पतालबाट फेरि घर वा डेरा पुर्याउने गरेका छौँ ।’
अरु दिनको तुलनामा शनिबार कमले सेवा लिएको भन्दै अन्य दिन भने दिन–प्रतिदिन सेवा लिने बढी रहेको उहाँले जानकारी दिनुभयो ।
सापकोटाले सम्झौता अनुसार कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै भए पनि महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि विरामीहरुले सम्पर्क गर्ने गरेको भन्दै त्यस्ता फोन दैनिक पचास भन्दा बढी नै आउने गरेको जानकारी दिनुभयो ।
महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता दिने गरेको छ । चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको डायलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उहाँको भनाई छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिने उद्देश्यले लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घर वा कोठासम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘लकडाउनको अवधिमा सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा महानगरमा बसोवास गर्ने विरामीलाई अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न आग्रह गर्दछु ।’
हाल पाँच ओटा एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पाट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट एम्बुलेन्सले सेवा दिइरहेको छ ।
काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरुलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ । उक्त सेवा लिनका लागि १०२ नं. मा सम्पर्क गर्न सकिने पनि प्रमुख शाक्यले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय