arin enterprises

नृत्य दिवसको अवसरमा बज्राचार्यको सम्मान

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख १६, सोमबार

आज अप्रिल २९, विश्वभरिका नृत्य प्रेमीहरु अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउँदैछन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय नृत्य दिवस मनाईंदैछ । 

यसैक्रममा नेपाल म्यूजिक सेन्टर ट्रष्टले सम्मान कार्यक्रमको आयोजना गरेको छ । ट्रष्टले आज नृत्य विशेषज्ञ, नृत्य विधाकी प्राध्यापक बेटी बज्राचार्यलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल संगीत विद्यालयका अध्यक्ष साथै गीतकार रत्नशम्सेर थापाले बज्राचार्यलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो भने ट्रष्टका सदस्य सचिव सन्तोष शर्माले माला लगाइदिए । ट्रष्टका अध्यक्ष वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीले ताम्रपत्र र नगद रु १० हजार राशी प्रदान गर्नुभयो । 

सम्मानित बज्राचार्यले सम्मानसँगै आफुलाई नृत्य क्षेत्रको उत्थानको लागि आफुलाई जिम्मेवारी थपिएको महसूस भएको बताउनुभयो ।

सोही कार्यक्रममा बिभिन्न विधाका नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । विभिन्न समूहले शास्त्रीय, झांगड, थारु, कौराहा, तामाङ सेलो, झ्याउरे नृत्यको साथै बाल नृत्य, चलचित्र, आधुनिक, लोक नृत्य प्रस्तुत गरेका थिए ।

युनेस्कोको पर्फमिङ आर्ट्सको पार्टनर डान्स कमिटी अफ द इन्टरनेशनल थिएटर इन्स्टिच्यूटले सन् १९८२ बाट अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउन थालेको हो । पछिल्लो समय नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै भव्य रुपमा अन्तर्राष्ट्रिय नृत्य दिवस मनाउन थालिएको छ ।

Categorized in पेजथ्री