arin enterprises

नेपाः यूथ साँस्कृतिक पुचः गठन

SamacharDesk – सोसियल ब्यूरो | २०७५ चैत्र २३, शनिबार

भाषा, संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्याउनका लागि भन्दै नेपाः युथ अर्गनाइजेसनको भातृ संगठनको रुपमा नेपाः युथ साँस्कृतिक पुचः गठन गरिएको छ ।

अर्गनाइजेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुचःको घोषणा गरेको हो । घोषणा कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष सांसद् राजेन्द्रप्रसाद श्रेष्ठले भाषा,संस्कृति र सम्पदा विनाको मानव जीवन मरेतुल्य हुने बताउनुभयो । सांसद् श्रेष्ठले भाषा,संस्कृति र सम्पदा संरक्षणमा नेपाः युथ अर्गनाइजेसनको भुमिकाको प्रशंसा गर्दै भातृ संगठनको सफल कार्यकाल निम्ति शुभकामना व्यक्त गर्नुभयो । 

कन्यामन्दिर मा.वि.का प्रधानाध्यापक  नगेन्द्र बहादुर बिष्टले विगत ६,७ दशकदेखिनै विद्यालयले नेपालभाषा पठनपाठनका निम्ति पाईला चाल्दैरहेको र आवश्यक परेमा सहकार्य गरि अगाडि बढ्ने बताउनुभयो ।

यसैगरी, नेपाः युथ अर्गनाइजेसनका अध्यक्ष श्यामकृष्ण प्रजापति, नेपाः यूथ साँस्कृतिक पुचःका अध्यक्ष आर्यन महर्जनले भाषा, संस्कृति र सम्पदा संरक्षणका निम्ति जुनसुकै अवस्थामा पनि अघि बढिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नवगठित पुचःको अध्यक्षमा आर्यन महर्जन चयन गरिएको छ भने सचिवमा सोनिया महर्जन अनि कोषाध्यक्षमा सिम्रन कपाली चयन गरिएको छ । यसैगरी उपाध्यक्षमा नारायण श्रेष्ठ, सह सचिवमा सुरज श्रेष्ठ र सह कोषाध्यक्षमा आमोश महर्जन रहेका छन् । १३ सदस्यीय कार्यसमितिको सदस्यमा रोजी महर्जन, प्रनिशा मानन्धर, यशोदा पाण्डे,  गोविन्द कायस्थ, सुजन प्रजापति, रज्जु महर्जन र अभिषेक महर्जन छन् ।

सोही कार्यक्रममा यःमरि पुर्णेको अवसरमा पुचःले आयोजना गरेको त्यःछिंत्यः कार्यक्रममा सहयोग पुर्याउने कलाकार, प्राविधिक लगायतलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै गुंला धर्म मेलाको अन्तिम दिन मनाइएको पारु भ्वय् का सहयोगीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । संघीय समाजवादी फोरम नेपालका सह अध्यक्ष सांसद् राजेन्द्रप्रसाद श्रेष्ठले प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

Categorized in समाज