arin enterprises

नेपालभाषाको पहिलो कामशास्त्र विमोचित

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७६ बैशाख २७, शुक्रबार

नेपालभाषा साहित्य क्षेत्रको पहिलो कामशास्त्रसँग सम्बन्धित पुस्तक सार्वजनिक भएको छ । ईलोहं पब्लिेकशनले आज ललितपुरमा एक कार्यक्रमको आयोजना गरी दर्शनवीर शाक्यबाट लिखित कामशास्त्रसँग सम्बन्धित पुस्तक ‘नागरसर्वस्व’ सार्वजनिक गरेको हो ।

कार्यक्रममा प्रदेश ३ का सांसद डा.अजयक्रान्ती शाक्य, उप प्राध्यापक वज्रमुनि वज्राचार्य, ईलोहं पब्लिकेशन प्रा.लि. का प्रवन्ध निर्देशक नरेशबीर शाक्यले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नुभयो ।

कार्यक्रममा उप प्राध्यापक वज्राचार्यले राख्दै कामशास्त्र भन्ने वित्तिकै यौन शिक्षा भनी बुझ्ने परिवेशमा यस पुस्तकले त्यस्तो धारणामा परिवर्तन ल्याउने बताउनुभयो । यस पुस्तकमा विभिन्न किसिमको व्यक्तित्व विकासका उपायको साथमा उद्यमशीलताको ज्ञान समेत रहेको बताउनुभयो ।

त्यस्तै प्रदेश ३ का सांसद डा. शाक्यले कला र साहित्य क्षेत्रको विकासको लागि आफुले सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफैं पनि संगीतकार भएको नाताले यस क्षेत्रको मर्म राम्ररी बुझेको र सहयोगको लागि आफु तयार रहेको शाक्यको भनाई थियो । 

शाक्यले कलाकार र साहित्यकारले आफ्नो श्रृजना बजारमा पुर्याउन पनि आफैं लाग्नुपर्दा गुणस्तरीय श्रृजनामा असर पर्ने बताउनुभयो । ठुलो धनराशी लगानी गरी श्रृजनाहरु बजारमा ल्याइन्छ । हामीले सानो रकम तिरेर किनिदिए पुग्छ’ डा.शाक्यले भन्नुभयो । बजारमा आएका श्रृजनाहरुलाई समुदायले अपनाइदिए सर्जकको सम्मान हुनेछ र नयाँ श्रृजनाको लागि हौसला पनि हुनेछ ।’

यस्ता उपाय सिकेर हामी आफैंले यसको उत्पादन पनि गर्न सक्छौं

 

ईलोहं पब्लिकेशनका प्रवन्ध निर्देशक शाक्यले नेपालभाषाका साहित्य र कला क्षेत्रको संरक्षण र प्रवद्र्धनको लागि आफु र आफ्नो संस्था निरन्तर लागिरहने बताउनुभयो । शाक्यले नेपालभाषाको म्यूजिक भिडियो विशेष पेजथ्री अवार्डको बारेमा सोच र योजना बनिरहेको जानकारी पनि दिनुभयो । 

ईलोहं पब्लिकेशनबाट प्रकाशन भइरहेको नेपालभाषाको रंगीन पाक्षिक पेजथ्रीको आयोजनामा पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको तेश्रो संस्करणसम्म सम्पन्न भइसकेको छ । तेश्रो संस्करणसम्म नेपालभाषाको संगीत विधा, म्यूजिक भिडियो विधा र चलचित्र विधा गरी तीन विधामा अवार्ड वितरण गरिएको थियो ।

त्यसैगरी पेजथ्री पाक्षिकका सम्पादक साथै आज सार्वजनिक गरिएको पुस्तक नागरसर्वस्वका लेखक दर्शनवीर शाक्यले कामशास्त्रको अध्ययनबाट यौन शिक्षामात्र लिने नभई मानव जीवनको लागि आवश्यक विभिन्न पक्षहरुको समेत शिक्षा लिन सकिने बताउनुभयो ।

‘कामशास्त्रमा पुरुष आकर्षक देखिन अथवा महिला सुन्दर देखिन आवश्यक विभिन्न सामग्री बनाउने तरीका पनि सिकाइएको छ । यस्ता उपाय सिकेर हामी आफैंले यसको उत्पादन पनि गर्न सक्छौं’ शाक्यले बताउनुभयो, ‘यो पुस्तकको ज्ञानलाई व्यवहारमा उतार्न सकियो भने समृद्धिको बाटो नै हो ।’

यसै कार्यक्रममा तेश्रो पेजथ्री अवार्डका सहयोगीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । साथै पेजथ्री पाक्षिकको व्यानरमा निर्माण भएको सर्ट फिल्म मिथ जिरोका कलाकार, प्राविधिक र सहयोगीहरुलाई पनि यहि कार्यक्रममा मायाको चिनो सहित सम्मान गरिएको थियो ।

Categorized in पेजथ्री