arin enterprises

नेपालमा एकै पटक भेटिए ३ कोरोना संक्रमित

SamacharDesk – विकाश | २०७६ चैत्र २२, शनिबार

नेपालमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले कैलाली र कञ्चनपुरमा थप ३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनाएको हो ।

संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखि उपचार गरिँदै छ ।

थप ३ जनामा संक्रमणको पुष्टि भएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९ पुगेको छ ।

संक्रमित तीन जनामध्ये एक कैलालीका २१ वर्षीय पुरुष रहेका छन् । उनी केही समयअघि भारतको मुम्बईबाट आएका हुन् । उनी क्वारेन्टाइनमा थिए ।

यसैगरी, अर्का संक्रमित भारतको उत्तराखण्डबाट आएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा देखिएको छ । उनी पनि क्वारेन्टाइनमा रहेका थिए ।

आज पोजेटिभ देखिएका ३ मध्ये कैलालीकी ३४ वर्षीय महिला पनि रहेका छन् । कुनै ट्राभल हिस्ट्री नभएकि उनमा भने यसअघि कैलालीमा भेटिएका संक्रमित पुरुषबाट संक्रमण सरेको देखिएको छ ।

शनिबार कोरोना संक्रमण देखिएकी उक्त महिला यस अघि कैलालीमा भेटिएका संक्रमित पुरुषकी आफन्त हुन् ।

दुबईबाट नेपाल फर्किएका पुरुष चैत ११ गते अस्पताल भर्ना भएका थिए । चैत १४ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । शनिबार उनकै आफन्तमा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा स्थानीयमै संक्रमण देखिएको यो पहिलो हो । यसअघि विदेशबाट आएकाहरुमा मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कुनै ट्राभल हिस्ट्री नभएको व्यक्तिमा यसप्रकार संक्रमण देखिनुलाई कोरोना संक्रमणको दोस्रो चरण मानिन्छ, । यदि छरछिमेकलाई पनि संक्रमण भएको देखिएमा त्यसलाई कम्युनिटी (समुदाय) ट्रान्समिसन भनिन्छ ।

कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । 

लोकल ट्रान्समिसन देखिएसँगै नेपालका लागि यो साता निकै महत्वपूर्ण हुने विज्ञहरुको भनाई छ ।

अहिलेसम्म उपत्यका र उपत्यकाबाहिर गरेर नेपालभर आठ जना कोरोना संक्रमित उपचाररत छन् भने नेपालको पहिलो संक्रमित व्यक्ति निको भएर घर फर्किसकेका छन् ।

हालसम्म नेपालभर गरेर १३ सय ५३ जनामा कोरोना संक्रमणको परीक्षण भइसकेको छ ।

Categorized in राष्ट्रिय