arin enterprises

नेपालमा पनि सम्पदा दिवस भव्यरुपमा मनाईयो

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख ५, बिहिबार

आज अप्रिल १८, विश्वभरिमा विभिन्न कार्यक्रमहरु गर्दै विश्व सम्पदा दिवस मनाईयो । यसै अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 

विश्व सम्पदाको संरक्षण तथा सम्बर्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस मनाउने गरिएका हो ।

२०७२ साल वैसाख १२को भुकम्पले काठमाडौं लगायत नेपालका विभिन्न स्थानमा रहेका ऐतिहासिक, धार्मिक महत्वका सम्पदाहरु भत्किएका छन् । ती क्षतिग्रस्त सम्पदामध्ये कति पुनर्निर्माण भइसकेका छन् त कति पुनर्निर्माकणको क्रममा छन् । अझ कति त लथालिङ्ग अवस्थामै रहेका छन् ।

नेपालका यस्ता धार्मिक, ऐतिहासिक महत्वका सम्पदाहरुको पुनर्निर्माणको अवस्थामा रहेको वर्तमान समयमा यो वर्षको सम्पदा दिवसले नेपालमा विशेष महत्व राखेको छ ।

विश्व सम्पदा दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले र्यालीको आयोजना गरेको छ । सम्पदा मार्ग नाम दिइएको स्वयम्भूदेखि हनुमान ढोका दरवार क्षेत्रसम्म र्यालीको आयोजना गरिएको हो । स्वयम्भूबाट शुरु भएको र्याली डल्लु हुँदै तप्यंताँ, बुरांखेल, नरदेवी, दमाईटोल, चस्वांद्वँ, मिच्याः गल्ली, मरुहिति, काष्ठमण्डपबाट हनुमान ढोका पुगेको थियो ।

सम्पदा संरक्षणको सन्देश दिँदै गरिएको र्यालीमा कलाकार, पत्रकार, व्यवसायी लगायत राजनैतीक दलका नेताहरुको समेत सहभागीता थियो । हनुमानढोका पुगेर सभामा परिणत भएको र्यालीलाई काठमाडौं महानगरापालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्वोधन गर्नुभयो ।

कामपा प्रमुख शाक्यले सम्पदा संरक्षणको नाममा केही समूह काममा वाधा पुर्याउन तत्पर रहेको बताउनुभयो । आफुले धेरै सम्पदाहरुको पुनर्निर्माणको पुनर्निर्माणको काम अगाडी बढाउन खोज्दा पूर्वाग्रह राख्दै झुठा आरोप दिएर काममा वाधा पुर्याउने गरेको गुनासो शाक्यको थियो । आपसी समन्वय गर्दै काम अगाडी बढाउनका लागि साथ दिन आग्रह गर्नुभयो ।

 

यसै अवसरमा स्वयम्भुदेखि हनुमानढोका दरवार क्षेत्रसम्मको सम्पदा मार्ग गुरुयोजना पनि सार्वजनिक गरिएको छ ।

हनुमानढोकामा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाले ‘मास्टर प्लान अफ हनुमान ढोका दरबार स्क्वायर टु स्वयम्भू वल्ड हेरिटेज’ नामक पुस्तक सार्वजनिक गर्दै सम्पदा मार्ग गुरुयोजना अगाडी ल्याएको हो ।

नेपालको ऐतिहासिक यी दुई सम्पदा स्वयम्भू र हनुमानढोका दरबार क्षेत्रलाई जोड्ने गुरुयोजना सार्वजनिक गरिएको हो । गुरुयोजनाले यहाँको संस्कृतिको पहिचान, अभिलेखीकरण र संरक्षणलाई प्राथमिकताका साथ अघि सारेको छ ।

गुरुयोजनामा संस्कृति तथा रीतिलाई पर्यटन क्षेत्रसँग जोडेर स्थानीयको जीवनस्तर उकास्ने र मूर्त तथा अमूर्त सांस्कृतिक पक्षको पुस्तान्तरण गर्ने कार्यलाई लक्ष्य बनाएको कामपा प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिनुभयो ।

सम्पदा मार्ग हुँदै स्वयम्भुदेखि हनुमान ढोका दरवार क्षेत्रसम्मको दूरी २ दशमलव २ किलोमिटर रहेको छ । यस मार्गमा काठमाडौं महानगरका १५, १८, १९, २०, २३ र २४ वडाहरु रहेका छन् ।

यो मार्गभित्र थुप्रै गुम्बा, मन्दिर, ढुङ्गेधारा, पाटी जस्ता सम्पदाहरु रहेकाले यस क्षेत्रलाई सम्पदा मार्ग तय गरिएको काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् । 

मेयर शाक्यले काठमाडौं शहरलाई निरन्तररुपमा सम्पदाको शहरका रुपमा जीवन्त राख्नका लागि गुरुयोजनाले ठूलो सहयोग गर्ने जिकिर गरेका छन् ।

Categorized in राष्ट्रिय