arin enterprises

नेपाल प्रहरीमा मातृभाषा सेवा शुरु

SamacharDesk – सोसियल ब्यूरो | २०७६ जेठ २५, शनिबार

अब नेपाल प्रहरीमा आम जन समुदायले आफ्नै मातृभाषामा सेवा पाउन सक्ने भएका छन् । नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मातृभाषामा पनि सेवा दिने कामको थालनी गरेको हो ।

नेवाः पत्रकारहरुको समूहसँग कुराकानी गर्दै महानगरीय प्रहरी परिसर प्रमुख उत्तमराज सुवेदीले स्थानीयको समस्या बुझ्न र समाधानमा पुग्न सहज वातावरणको निर्माण गर्न यो कार्यक्रमले ठुलो सघाउ पुग्ने आशा लिएको बताए ।

‘स्थानीय जन समुदायसँग नजिकिन भाषाको ठुलो भूमिका रहन्छ । आफ्नै मातृभाषामा कुराकानी गर्न पाएमा स्थानीयले प्रहरीलाई नजिक पनि महसूस गर्नेछन् र विना कुनै संकोच आफ्ना कुराहरु पोख्न सक्नेछन्’ परिसर प्रमुख सुवेदीको भनाई थियो ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख सहकुल थापाले समावेशीताको सिद्धान्तलाई पूर्ण रुपमा पालना गरेको निकाय नेपाल प्रहरी नै रहेको बताउँदै यहाँका विभिन्न जातीय समूहको मातृभाषामा सेवा दिन खासै कठिनाई नरहेको बताउनुभयो ।

महाशाखा प्रमुख थापाले हालपनि अनौपचारिक रुपमा भएपनि आवश्यकताको आधारमा सेवाग्राहीहरुसँग उनीहरुकै मातृभाषामा कुराकानी गर्ने गरेको बताउँदै औपचारिक रुपमै सेवाको शुरुवात गर्नु नेपाल प्रहरीको लागि खुसीकै कुरा भएको बताउनुभयो ।

‘२०७२ को भूकम्पपछि अहिले परिसर र अपराध अनुसन्धान महाशाखा दुइटै निकाय अस्थायी संरचनामै बस्दै आएको छ । अहिले हामीले जग्गा प्राप्त गरिसकेको अवस्था छ । स्थायी संरचना तयार हुने वित्तिकै हामी मातृभाषाको छुट्टै डेस्क व्यवस्थित रुपमा संचालन गर्नेछौं’ थापाले बताउनुभयो ।

सोभन्दा अघि, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले नेवाः पत्रकारहरुको समूहलाई भेटेर छलफल गर्नुभएको थियो । सो छलफलमा खनालले नेवार समुदायको बाहुल्यता रहेको काठमाडौं उपत्यकामा नेपालभाषाबाट सेवा दिएर यसको शुरुवात गर्ने बताउनुभएको थियो ।

सहजीकरणको उद्देश्यले अब आम जन समुदायले आफ्नै मातृभाषामा कुराकानी गर्न सकिने साथै निवेदन समेत दर्ता गर्न पाउने गरी सेवाको शुरुवात गरिने खनालले बताउनुभयो ।

‘अपराध नियन्त्रण र सभ्य समाजको निर्माण गर्न समुदायलाई पनि अगाडी बढाउनका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम आएको छ । यस अन्तर्गतका विभिन्न कार्यक्रमबाटै मातृभाषा सेवा शुरु गरिएको छ’ खनालले बताउनुभयो । ‘समुदायकै सुझावको आधारमा समुदायसँगकै सहकार्यमा अन्य कार्यक्रमहरु पनि ल्याइनेछ ।’

उपत्यकाका विभिन्न वृत्तहरुमा मातृभाषाबाट सेवाको शुरुवात गर्न निर्देशन जारी गरिसकिएको प्रहरी सचिवालयका वरिष्ठ उपरिक्षक एवम् इन्टरपोलका प्रमुख उमेशराज जोशीले बताउनुभयो ।

Categorized in राष्ट्रिय