नेवाः फिल्मकर्मीहरुको डाइरेक्ट्री प्रकाशन हुने
SamacharDesk – इन्टरटेनमेन्ट डेस्क | २०७५ माघ १८, शुक्रबार

नेवाः फिल्मकर्मीहरुको सम्पूर्ण विवरणसहितको डाइरेक्ट्री प्रकाशन हुने भएको छ । नेवाः फिल्म सोसाईटीले नेवाः फिल्मकर्मीहरुको जानकारीसहितको डाइरेक्ट्री प्रकाशन गर्ने भएको हो ।
सोसाईटीले आज कार्यक्रमको आयोजना गरी डाइरेक्ट्री प्रकाशन गर्ने घोषणा गरेको हो । कार्यक्रममा सोसाईटीका उपाध्यक्ष साथै डाइरेक्ट्री प्रकाशनका संयोजक दर्शनबीर शाक्यले नेवाः चलचित्र र चलचित्रकर्मीको ईतिहास अभिलेखीकरण गर्नका लागी उक्त डाइरेक्ट्री प्रकाशन गर्न लागिएको जानकारी दिनुभयो ।
वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले सम्पूर्ण जानकारी समेट्ने कोशिश गर्दै पहिलो चरणमा संकलन भएका जानकारीलाई सक्दो चाँडो प्रकाशन गर्नुपर्ने बताउनुभयो । छुटेका वा बाँकि रहेका जानकारी दोश्रो संस्करणमा पनि प्रकाशन गर्न सकिने विजयरत्नको सुझाव थियो ।
आदिवासी जनजाति चलचित्र महांसघका महासचिव पुर्खाजित राईले आदिवासी जनजाति चलचित्र र चलचित्रकर्मीको यकिन तथ्याङ्क उपलब्ध नरहेको अवस्थामा यस डाइरेक्ट्रीले नेवाः चलचित्रको तथ्याङ्क सार्वजनिक हुने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका अध्यक्ष अमृत सुनुवारले चलचित्र सम्बन्धि राज्यको नीति आदिवासी मैत्री नहुँदा यस आदिवासी जनजाति चलचित्र क्षेत्रले निकै समस्याहरु भोग्नुपरेको बताउनुभयो । लामो संघर्ष र विभिन्न चरणको सम्वाद पछि चलचित्र दर्ता प्रक्रियामा केही मागहरु सम्वोधन भएपनि सेन्सरमा हिन्दुवादी सोच अझै हावी रहँदा जनजाति समुदायले चलचित्रमा आफ्ना मौलिक कथावस्तु प्रस्तुतिमा समस्या भईरहेको सुनुवारको भनाई थियो । आदिवासी जनजाति चलचित्रकर्मीहरु एकजुट भएर परिवर्तनको लागी अगाडि बढ्नुपर्नेमा सुनुवारको जोड थियो ।
सोसाईटीका अध्यक्ष लुःजः सिंहले सोसाईटीले नेवाः चलचित्रलाई राष्ट्रिय साथै अन्तर्राष्ट्रिय बजारमा समेत पुर्याउन प्रयत्नरत रहेको बताउनुभयो । चलचित्रकर्मीको लागी दुरगामी उपलब्धीको लागी सोसाईटीले योजना बनाइरहेको पनि अध्यक्ष सिंहले बताउनुभयो ।
कार्यक्रममा तेश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको साथमा तेश्रो नेवाः चलचित्र महोत्सवको लागी समेत चलचित्र दर्ताको लागी आव्हान पनि गरिएको थियो । सोही कार्यक्रममा नेवाः साथै नेपालकै चलचित्रको ईतिहास र सोसाईटीका गतिविधिहरुको जानकारीमूलक फोटोहरुको प्रदर्शनी पनि भएको थियो ।
Categorized in पेजथ्री