arin enterprises

पत्रकारिता शिक्षाका प्रणेता अर्यालको आज तेह्रौं दिनको तिथि

SamacharDesk – निर्मल वज्राचार्य | २०७५ श्रावण ७, सोमबार

नेपालमा पत्रकारिताको शिक्षाको अग्रणी दिपक अर्याल स्वर्गीय हुनुभएको आज तेर्ह दिन भएको छ । स्व अर्यालको परिवारले आज उनको तेर्हौं दिनको पुण्य तिथि विधि अनुसार गरेका छन् । 

सेवामा सक्रिय भई चर्चातिर ध्यान नदिने, नेपालमा पत्रकारिता शिक्षाका अगुवा अर्यालको पुण्यतिथिको चर्चा भने आज खासै कुनै पत्रपत्रिका वा संचारमाध्यमले गरेको पाइएन । स्व. अर्याल नेपालमा पत्रकारिता शिक्षाको शुरुवात गर्नुका साथै विभिन्न क्षेत्रमा जीवनभर सक्रिय योगदान दिने व्यक्तित्व हुन् ।

नेपालमा पत्रकारिता शिक्षाको शुरुवात गर्ने मुख्य उद्देश्यले २०२८ मा काठमाडौं स्कुल अफ जर्नालिज्म (KSJ) नामक संस्थालाई जिल्ला प्रशासन कार्यालयमा दीपक अर्यालको अध्यक्षतामा दर्ता गरिएको थियो ।

विदेशबाट आमसंचारमा डिग्री गरेर आउनु भएका लाल देउसा राई लगायत वरीष्ठ पत्रकारहरु मनरञ्जन जोशी र गोपालदास प्रधानको सहभागीतामा KSJ ले पत्रकारिताको पठनपाठनकालागि पाठ्यक्रम तयार गरि कक्षा समेत संचालन गर्न लागेको अवस्थामा तत्कालीन पंचायती व्यवस्थाले गैर सरकारी संस्थाले उक्त कक्षा संचालन गर्न नमिल्ने भन्दै रोक लगाएपछि उक्त पाठ्यक्रम रत्नराज्य कलेजलाई हस्तान्तरण गरिएको थियो । फलस्वरुप सो KSJ नै नेपालको पहिलो पत्रकारिता अध्यापन गर्ने कलेजको रुपमा स्थापित भएको देखिन्छ ।

 पाठ्यक्रम तयार गरेर पनि पत्रकारिता अध्यापन गराउने अनुमति नपाएपछि सोही संस्थामार्फत उनले आफ्नै सम्पादनमा नेपालमै पहिलो पल्ट २०३१ सालमा NEPALWHO’S WHO प्रकाशन गरेका थियो । सो पुस्तकलाई २०३२ सालमा तत्कालीन राजा वीरेन्द्रको राज्यारोहणको अवसरमा विदेशी पाहुनाहरुलाई उपहार दिइएको थियो । साथै २०३४ सालमा उहाँ त्रिभुवन विश्वविद्यालयको पत्रकारिता विषय समितिको सदस्य पनि हुनुभयो ।

८ बर्षपछि KSJ लाई खारेज गरेर नेशनल रिसर्च एशोशियट्स (NRA) पनि दीपक अर्यालकै अध्यक्षतामा दर्ता भएको थियो । सो संस्थाले नेपालमै पहिलोपटक नेपालका पचहत्तरै जिल्लाहरुको पूर्ण विवरण समावेश गरेर District Profile प्रकाशन गरेको थियो भने NEPAL WHO’S WHO को दोस्रो संस्करण पनि प्रकाशित भएको थियो । 

तत्पश्चात उहाँले २०४२ सालमा Research Center for Communication and Development (RECOD) को स्थापना गरि कार्यकारी निर्देशकको रुपमा निरन्तर योगदान दिँदै आउनुभएको थियो । सोही संस्थाले पहिलो पल्ट २०४७ मा SAARC WOMEN NEPAL  को नाममा नेपालका महिला व्यक्तित्वहरुको मात्र प्रोफाइल समावेश गरी WHO’S WHO  प्रकाशित गरेको थियो, जसको प्रधान सम्पादक दीपक अर्याल नै हुनुहुन्थ्यो । RECOD ले हालसम्म पनि NEPAL WHO’S WHO को नयाँ संस्करणहरुको प्रकाशनमा निरन्तरता दिईरहेको छ । 

उहाँले वेदनिधि पुरस्कार प्रवन्ध परिषद्को अध्यक्षको रुपमा २०४३ देखि २०६५ सम्म संचालन गर्नुभएको थियो । संगीत क्षेत्रमा पनि सक्रिय रहनुभएका अर्यालका साहित्य क्षेत्रका समकालीन वरिष्ठ गीतकार रत्नशम्शेर थापा हुनुहुन्छु भने संगीत क्षेत्रका समकालीन वरिष्ठ गायक शिवशंकर मानन्धर र वरिष्ठ गायक तथा संगीतकार नातिकाजी श्रेष्ठ हुनुहुन्थ्यो ।

विगत १५ बर्ष देखि COPD बाट ग्रसित हुनुभएका अर्यालको देहावसान २०७५ असार २७ विहान ५ बजे वालुवाटारस्थित आफ्नै निवासमा भएको थियो । उहाँका पत्नी, एक छोरा र एक छोरी हुनुहुन्छ ।

Categorized in समाज