arin enterprises

पद्मरत्न प्रतिष्ठान बनाउन पहल गर्ने दाहालको प्रतिवद्धता

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७६ बैशाख २५, बुधबार

सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकि काम पूरा गर्नका लागि अपील गर्नुभएको हो ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै दाहालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउँदै संसारभरि नै नेपालको उदाहरणीय सन्देश दिने अवसर समेत भएको बताउनुभयो ।

ऐन संशोधन गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगलाई नयाँ ढङ्गबाट गठन गर्ने प्रक्रिया अघि बढेको जानकारी पनि दाहालले दिनुभयो ।

कार्यक्रममा नेकपा अध्यक्ष दाहालले स्वर्गीय मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको जीवनीमा आधारित पुस्तक ‘सर्वरत्न’ विमोचन गर्नुभयो ।

स्वर्गीय नेताको स्मरण गर्दै दाहालले भन्नुभयो, ‘आज शान्ति प्रक्रियालाई पूरा गर्न म स्वर्गीय पद्मरत्न तुलाधरलाई निकै सम्झिरहेको छु । शान्ति प्रक्रियालाई अघि बढाउन सहजकर्ताको रुपमा दमननाथ ढुङ्गानाको साथमा पद्मरत्न तुलाधरको भूमिका निकै प्रशंसनीय थियो ।’

पूर्वप्रधानमन्त्री दाहालले स्वर्गीय नेता तुलाधरको नाममा प्रतिष्ठान बनाउन सरकारसँग पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा मानवअधिकारवादी नेता मल्ल के. सुन्दरले भाषिक अधिकार, जातीय समानताको आन्दोलनमा नेता पद्मरत्न तुलाधरको योगदानको चर्चा गर्नुभयो ।

नेता मल्लले पंचायत, राजतन्त्रले दमन गरेको, वाक स्वतन्त्रता समेत हनन भइरहेको समयमा पनि समानता र समावेशीको पक्षमा निडर भएर बोल्ने नायकको रुपमा तुलाधरको चर्चा गर्नुभयो ।

तुलाधरको जीवनको विविध पक्षलाई सँगालिएको पुस्तक ‘सर्वरत्न’का लेखक संचारकर्मी जितेन्द्र रसीक हुनुहुन्छ ।

Categorized in पेजथ्री