arin enterprises

पानीको समस्या समाधान गर्न मेलम्ची कुर्नै पर्दैन

SamacharDesk – सोसियल ब्यूरो | २०७६ जेठ ३२, शनिबार

काठमाडौंमा पानीको समस्या समाधान गर्न मेलम्ची कुर्नै नपर्ने विज्ञहरुले बताएका छन् । काठमाडौंमा खानेपानी सम्बन्धि आयोजित एक कार्यक्रमका वक्ताहरुले भएको पानीको व्यवस्थापन मात्र गरेतापनि यहाँको पानीको समस्या धेरै हदसम्म कम गर्न सकिने दावी गरे ।

ऐतिहासिक ढुङ्गेधारा तथा मुहान संरक्षण समितिका सुशील श्रेष्ठले आजको दिनसम्म पनि ललितपुरका ६० प्रतिशत र काठमाडौंका ३० प्रतिशत ढुङ्गेधाराहरु रीचार्ज गर्न सकिन भन्नुभयो । यहाँ भएका ढुङ्गेधाराको उचित संरक्षण गरिए त्यसबाट २४सै घन्टा ३ सय ६५ दिनै पानी आउने पनि दावी गर्नुभयो ।

यहाँका ढुङ्गेधारा संरक्षणको सरकारलाई कैयन पटक ताकेता गर्दा पनि चासो नदेखाएको गुनासो श्रेष्ठले गर्नुभयो । मेलम्चीको काम कति प्रतिशत सकियो वा किन रोकियो भन्ने विषयमा जनताको चासो नभएको बताउँदै ६० दिनमा जसरी भएपनि काठमाडौंवासीलाई पानी वितरण गर्न सरकारलाई अल्टिमेटम दिनुभयो ।

एकताका आकाशे पानी संकलन अभियानमा लागीपरेका अभियन्ता प्रकाश अमात्यले नेपालका राजनैतीक दलले पानीमा राजनीति गर्नका लागि नै समस्या समाधान नगरेको दावी गरे । सत्तामा पुगेका कुनै पनि दलले पानीको समस्या समाधान गर्न चासो नदेखाउँदा सरकारको नियतमा शंका पैदा भएको अमात्यको भनाई थियो ।

आकाशे पानी संकलन गर्न सकिए पनि खानेपानीको समस्या धेरै हदसम्म कम गर्न सकिने अवस्थामा आकाशे पानीमा राज्यले  लगानी गर्नुपर्ने उहाँको भनाई थियो । आकाशे पानी संकलन विधिमा आर्थिक लेनदेनको पाटो नहुँदा नै सरकारले यसमा चासो नदेखाएको आरोप पनि अमात्यको थियो ।

काठमाडौंवासीलाई तत्काल पानी वितरण गरी खानेपानी समस्या समाधान गर्नका लागि दवाव दिने उद्देश्यले ज्येष्ठ ३२ गते थापाथलीमा सरकारलाई दवाव दिने उद्देश्यले जनदवाव कार्यक्रम हुन गइरहेको छ । सोही कार्यक्रमको जानकारी दिन आज उपत्यका खानेपानी पिडित दवाव समूहले ललितपुरमा पत्रकार सम्मेलनको आयोजन गरेको हो ।

सो पत्रकार सम्मेलनमा सम्पदा अभियन्ता राजाराम तण्डुकारले पानीको लागि जनताले आन्दोलन गर्नुपरेको जस्तो लज्जास्पद विषय सरकारको लागि अरु कुनै हुन नसक्ने बताए । जीनवको लागि अपरिहार्य आवश्यकता हावा र पानी भएकोमा काठमाडौंमा न त स्वच्छ हावामा सास फेर्न पाएको न त पानी पिउन पाएको गुनासो तण्डुकारले गर्नुभयो । 

भोलि शनिबार ११ बजेबाट थापाथलीमा जनदवाव कार्यक्रम शुरु हुनेछ । सो कार्यक्रम अपरान्ह २ बजेसम्म शान्तिपूर्ण ढङ्खले आयोजना हुने समूहले जानकारी दियो । आफुले शान्तिपूर्ण ढङ्गले नै दवाव दिने तर सरकारले पानी जस्तो सवालमा पनि सुनुवाई गरेन भने त्यो पीडाले ल्याउने परिणामको जिम्मेवारी सरकारले नै लिनुपर्ने पनि वक्ताहरुको चेतावनी रहेको थियो ।

Categorized in समाज