पितृको नाममा सतबीज छर्दै बालाचतुर्दशी मनाइयो
SamacharDesk – कल्चर ब्यूरो | २०७६ मङ्सिर ९, सोमबार

आज मंसीर कृष्ण चतुर्दशी, दिवंगत पितृहरुको स्मरण गर्दै बालाचतुर्दशी मनाइयो ।
आजको दिन दिवंगत पितृहरुको नाममा काठमाडौंको पशुपति लगायत देशका विभिन्न स्थानमा रहेका शिवालयहरुमा शतवीज छरियो ।
आजको दिन पृथ्वीलोकमा छरिएको शतवीज पितृलोकमा गएर अकुंरण हुने र यिनै विजका कारणले पितृहरु कहिल्यै भोकै बस्न नपर्ने मान्यता रहेको छ ।
सतबीज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन, र सामा मिलाईएको सप्तधाना यूक्त शतवीज र विभिन्न प्रकारका फूलहरु रहने गर्दछ । स्थान विशेष अनुसार सतबीजमा चना, तील, मकै आदि पनि राख्ने चलन रहेको छ ।
सतबीजमा विभिन्न फलफुल पनि राख्ने गरिन्छ । कागती, विमिरो, सुन्तला, स्याउ, उखु, अम्बा, केरा आदि पनि राख्ने चलन रहेको छ ।
शतवीज छर्नका लागी चर्तुदशी भन्दा एकदिन अगावै त्रयोदशीको रातमा दिप प्रज्वलन गरेर भजन किर्तन समेत गर्दै जाग्राम बस्ने गरिन्छ ।
काठमाडौको पशुपतिनाथ अनि आसपासका किरातेश्वर, गौरीघाट, गुहेश्वरी, आर्यघाटको तट, श्लेषमान्तक बन लगायत पूर्वी नेपालको चतरा, बराहक्षेत्र, पर्वत जिल्लाको सेतीवेणी धाम, गुल्मी शान्तिपुरको चक्रेश्वर मन्दिर, नवलपरासीको देवघाट धाम, धनुषाको क्षिरेश्वर लगायत देशभरिका शिवालय एवं त्रिवेणी धामहरुमा विशेष घुईँचो अनि मेला लाग्ने गर्दछ ।
Categorized in संस्कृति