arin enterprises

पोखरामा हट एअर बेलुन सेवा शुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ मङ्सिर २, आइतबार

पोखराको फेवाताल किनारमा शनिबारदेखि हट एअर बेलुनको व्यावसायिक उडान सुरु गरिएको छ । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बेलुनको पहिलो उडान गरेर व्यावसायिक उडानको सुरुआत गरे ।

हट एअर बेलुनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले यस बेलुनले सन् २०२० नेपाल पर्यटन वर्षमा पर्यटकलाई नेपाल आकर्षित गर्न सहयोग पुर्याउने बताउनुभयो । पोखराको जनसंख्या बराबर पर्यटक भित्र्याउने प्रदेशको सरकारको लक्ष्य रहेको मुख्यमन्त्री गुरुङको भनाई थियो ।

बेलुन नेपाल प्रा.लि.ले करिब डेढ करोड रुपैयाँ लगानीमा दुईओटा हट एअर बेलुन सन्चालनमा ल्याएको हो । बेलुनबाट पोखराबजार, फेवाताल र हिमालको मनोरम दृश्यावलोकनका साथै सूर्योदयसमेत अवलोकन गर्न सकिन्छ । 

कास्कीको माछापुच्छ्र्रे गाउँपालिकाको धम्पुस र पोखरा महानगरपालिकाको लौरुकबाट बिहान सूर्योदय अवलोकन गर्नेगरी बेलुन उडान गरिनेछ । करिब एक घन्टा दृश्यावलोकन गर्दै हेम्जा र मादीखोलाको किनारमा बेलुन अवतरण गर्ने व्यवस्था मिलाइएको छ ।

बेलुनबाट दृश्यावलोकन गर्न नेपाली पर्यटकलाई प्रतिव्यक्ति एक घन्टाको ११ हजार रुपैयाँ र विदेशी पर्यटकलाई १६० डलर लाग्ने जनाइएको छ ।

Categorized in राष्ट्रिय