प्रतिनिधिसभामा सञ्चारमन्त्री कार्कीद्वारा एमसीसी पेश
SamacharDesk – Ram Dangol | २०७८ फाल्गुण ८, आइतबार

प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनको लागि टेबल भएको छ। अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी टेबल गरेका हुन् ।
मन्त्री कार्कीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधि सभा समक्ष पेस गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।
सरकारले नेपालको संविधानको सर्वोच्चता, सार्वभौमसत्ता, असंलग्न परराष्ट्र नीति र कुनै सैन्य संगठनमा आबद्ध नहुने प्रतिबद्धतासहित एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा पेस गरेको छ ।
उनले संयुक्त राष्ट्रसंघको बडापत्र, असंलग्न पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताअनुसार कुनै पनि सैन्य संगठनमा सामेल नहुने नेपालको परराष्ट्र नीतिको परम्परालाई आत्मसात् गर्दै एमसिसी सम्झौता अनुमोदन गर्नका लागि प्रतिनिधि सभामा पेस गरेको उल्लेख गर्नुभएको छ ।
सो सम्झौताले नेपालमा प्रसारण लाइन निर्माण भइ मुलुकमा उत्पादित विद्युतको व्यापारमा सहज हुने सरकारको विश्वास छ । एमसीसी अनुदानबाट प्राप्त सहयोगले ५ वर्षभित्रै आयोजनाहरू सम्पन्न हुने भन्दै मन्त्री कार्कीले सबै नेपालीले आयोजनालाई राष्ट्रिय गौरवको रूपमा ग्रहण गर्नुपर्ने बताए ।
एमसीसी सम्झौता पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।
Categorized in राजनीति