arin enterprises

प्रा.डा. बज्राचार्यको ‘कृति व दृष्टि’ विमोचित

SamacharDesk – समाचारडेस्क – साहित्य ब्युरो | २०७५ आषाढ २४, आइतबार

किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले समाजका हरेक पक्षको समालोचना हुनुपर्ने बताएका छन् । आज किर्तिपुरमा आयोजित एक कार्यक्रममा स्थानीय जनताले जनप्रतिनिधिको हरेक कामकारवाहीको समेत समालोचना गर्नुपर्नेमा नगर प्रमुख महर्जनले जोड दिनुभयो ।

‘आलोचनाको नाममा गरीने आलोचना अर्थहीन बनिदिन्छ । समभावले गरिने आलोचनाले समाजलाई प्रगतीको बाटोमा डोर्याउँछ । समाजमा हुने हरेक क्रियाकलाप, नेता, कार्यकर्ताहरुको गतिविधि, कामकारवाहीको समालोचना स्थानीय जनताले गर्नुपर्छ र आवश्यक सुझाव पनि दिनुपर्दछ ।’ महर्जनको भनाई थियो । 

साथै महर्जनले नेवार समाजको उत्थानको लागी पनि आवश्यक समालोचनाले सहयोग हुने विचार राख्नुभयो । नेपालभाषा एकेदमि, नेपालभाषा मंकाः खलः लगायतका संस्थाको पनि समालोचना गर्दै आवश्यक कदम चालियो भने समग्र नेवार साथै नेपाली समाजको उत्थानमा टेवा पुग्ने उनको भनाई थियो ।

सोही कार्यक्रममा नगर प्रमुख महर्जनले प्रा.डा. चन्द्रमान बज्राचार्यद्वारा नेपालभाषामा लिखित उपन्यास विधाको समालोचना पुस्तक ‘कृति व दृष्टि’को विमोचन गर्नुभयो ।

मानव अधिकारकर्मी साथै उपन्यासकार मल्ल के. सुन्दरले नेवाः साहित्यको विकासका लागी सबै  जुट्नुपर्ने बताउनुभयो । नेवाः साहित्य क्षेत्रमा विभिन्न पुरस्कारहरु रहेको र विभिन्न पुस्तकहरु पृरस्कृत भइरहने परिस्थितीमा पुरस्कृत हुन योग्य पुस्तकको संख्याको पनि समीक्षा हुनुपर्ने उपन्यासकार मल्लको भनाई थियो ।

पुस्तकका प्रकाशक अर्विन्द्रमान सिंहले नेपालभाषाका विद्यार्थीहरुका लागी अध्ययन सामग्री सहजै उपलब्ध हुने वातावरण बनाउनका लागी एउटा पाइला सारेको बताउनुभयो । ‘म आफैं नेपालभाषा विषयमा स्नातकोत्तर तहको विद्यार्थी हुँदा विभिन्न पत्रपत्रिका, किताबको फोटोकपि गरेर सामग्री संकलन गर्नुपर्ने, पूर्व विद्यार्थीहरुलाई सम्पर्क गरी सामग्री खोज्नुपर्ने अवस्था थियो । त्यस्तो अवस्थाको अन्त्य भएर अध्ययनमै समय दिन सहज वातावरणको विकास हुँदै जाओस् भन्ने हेतुले मैले यो पुस्तकको प्रकाशन गरेको छु’ प्रकाशक सिंहले भन्नुभयो ।

लेखक प्रा.डा.चन्द्रमान वज्राचार्यले उपन्यास विधामा मन भएका, उपन्यासकारहरुको लागी यस पुस्तकले मार्गदर्शन गर्न सकिने बताउनुभयो । कार्यक्रममा प्रा.प्रेमशान्ति तुलाधर, नेपालभाषा एकेदमिका भाइस चान्सलर यज्ञरत्न धाख्वालें नेवाः साहित्य क्षेत्र र विमोचित पुस्तकको बारेमा समीक्षात्मक मन्तव्य राख्नुभएको थियो ।

नेवाः उपन्यास विधाको ऐतिहासिक जानकारीको साथै उपन्यासका सैद्धान्तिक पक्षहरुको समेत जानकारी पुस्तकमा समावेश गरीएको छ ।

Categorized in पेजथ्री