प्रोजेक्ट बाजा नेपालको वसन्त उत्सव सम्पन्न
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूरो | २०७५ चैत्र २३, शनिबार

नेवाः बाजा र सांगीतिक परम्परा संरक्षणको उद्देश्यले स्थापित प्रोजेक्ट बाजा नेपालले वसन्त उत्सव मनाएको छ । वसन्त फेस्टिभल इन दरवार नामबात पाटन दरवारमा वसन्त उत्वस मनाइएको हो ।
वसन्त उत्सवमा लुभु महालक्ष्मी धाः दाफा खलःका युवाहरुले सांस्कृतिक नगरी लुभुको इष्ट देवता महालक्ष्मी तथा अन्य देवताहरुको वर्णन रहेको महालक्ष्मी ग्वारा, लुभुको वर्णन रहेको देश वर्ण दाफा गायन प्रस्तुत गरेका थिए भने दर्शकको अनुरोधमा वसन्त गीत पनि प्रस्तुत गरेका थिए ।
गायन प्रचलनबाट हराईसकेको मात्र नभइ लय समेत नभएको मात्र लिखित सामग्री भेटिएको महालक्ष्मी ग्वारा र देश वर्ण गीतको नयाँ लयको निर्माण संगीतकार विपु श्रेष्ठले गरेका हुन् ।
त्यसैगरी नेपालमण्डलमा ऋतुअनुसार बज्ने गीतहरुको पाहाँचःर्हेमा बज्ने घातु धूनका साथै वसन्त ऋतुमा गुञ्जने वसन्त धून प्रस्तुत गरिएको थियो । उक्त लोकधूनमा शास्त्रीय शैलीको समायोजन पनि गरिएको थियो ।
कार्यक्रममा राजिप बज्राचार्यले पञ्चकलाप चर्या नृत्य प्रस्तुत गरे । महाँकाल देवता आराधनामा गरिने यो चर्यानृत्य लाइभ गायन र वाद्यवादनमा प्रस्तुत गरिएको थियो ।
पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित उक्त उत्सवमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस कार्यक्रमबाट आफू निकै प्रभावित भएको उल्लेख गरे । लोप भइसकेका अमूर्त लोक संस्कृति पुनजीवित गर्दै जनजीवनमा फर्काउन सफल युवाहरुको समूहको यो उत्सव आयोजना निरन्तरताका लागि आफूले सहयोग गर्ने वचन मेयर महर्जनले दिनुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिका वडा १६ का अध्यक्ष निर्मलरत्न शाक्य, संगीत प्रवीण मोहनप्रसाद जोशी, कार्तिकनाच संरक्षण समितिया अध्यक्ष किरण चित्रकार, राजेश महर्जन लगायतको उपस्थिती थियो ।
प्रोजेक्ट बाजा नेपालका अध्यक्ष फिरोज बज्राचार्यले प्रोजेक्टको उद्देश्य र कार्यक्रमबारे जानकारी दिनुभयो ।
विभिन्न स्थानमा गई लोकबाजा, परम्पराको अध्ययन, संरक्षण तथा निरन्तरतामा समर्पित यस संस्थाको अध्यक्षमा फिरोज बज्राचार्य छन् भने उपाध्यक्षमा लक्ष्मीप्रसाद डंगोल, सचिवमा विश्वास बज्राचार्य, कोषाध्यक्षमा विपु श्रेष्ठ छन् भने सदस्यहरु सुजित नापित, राजिप बज्राचार्य, अनुप पौडेल रहेका छन् ।
Categorized in पेजथ्री