arin enterprises

बुलन्द आवाजका धनी सुरज रहेनन्

SamacharDesk – कला ब्यूरो | २०७६ बैशाख २८, शनिबार

बुलन्द आवाजका धनी चर्चित रेडियोकर्मी साथै म्यूजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ ।

विगत साढे चार वर्षदेखि मोर्टार न्यूरोन डिजिजबाट पिडित ४५ वर्षीय श्रेष्ठको गएराति २ः१५ बजे उपचारको क्रममा चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बैशाख १६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । पछिल्लो समय उनमा श्वासप्रस्वास र मुटुसम्बन्धी समस्या देखिएको थियो ।

पहिलो पटक उनी २०७१ मा दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उक्त अस्पतालमा निरन्तर उपचार पछि २०७२ साल बैशाखमा नेपाल फर्किएका थिए । विनाशकारी महाभूकम्पपछि उनलाई रोगले थप ग्रस्त बनाएको थियो ।

उनको शनिबारै पशुपति आर्यघाटमा अत्येष्टि गरिएको छ ।

धरानमा जन्मिएका उनले सुरुमा धरानस्थित बीपी कोइराला मेमोरियल अस्पतालको हाताभित्र रहेको रेडक्रसद्वारा संचालित ब्लड बैंकमा इन्चार्जका रुपमा काम गरेका थिए ।

धरानबाट प्रकाशित पूर्वाञ्चलको चर्चित राष्ट्रिय दैनिक ब्लाष्ट टाइम्समा सह सम्पादक, धरान टुडेलगायतका संचारमाध्यममा काम गरिसकेका उनी २०५६ सालमा ईमेज एफएममा आबद्ध भएका थिए । पछिल्लो समय उनी इमेज एफ एममा स्टेशन म्यानेजरका रुपमा कार्यरत थिए । 

साथै वाइट प्लस अडियो भिडियो कम्पनी संचालन गरी म्यूजिक भिडियोको निर्देशन र सम्पादनमा पनि निकै क्रियाशिल थिए ।

उनी स्वतन्त्र एफ एम रेडियोहरुको छाता संगठन रेडियो ब्रोडकास्टर्स फोरम नेपाल (आर बि एफ नेपाल) का उपाध्यक्ष समेत थिए ।

उनको परिवारमा श्रीमतिको साथै एक छोरा र एक छोरी छन् ।

वि.स. २०३१ साल फागुन २६ गते जन्मिएका श्रेष्ठका सात जना दिदीहरु छन् । उनी परिवारका कान्छा सदस्य थिए ।

इमेज च्यानल, रेडियो ब्रोडकास्टर्स फोरम लगायतका संघसंस्थाले श्रेष्ठप्रति श्रद्धान्जली पोखेका छन् । 

Categorized in पेजथ्री