भक्तपुर डुबानमा, तीनको मृत्यु, सयौं विस्थापित
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ आषाढ २९, शुक्रबार

अविरल वर्षापछि गएको पहिरोमा परेर चाँगुनारायणमा तीन जनाको मृत्यु भएको छ ।
अविरल वर्षासँगै चाँगुनारायण नगरपालिका ७ मझुवामा पहिरो जाँदा बुद्ध लामाको घर पुरिएर तीन जनाको मृत्यु भएको हो । पहिरोमा परेर ७० वर्षका हिरा लामा, ६५ वर्षका पानमाया र ३० महिनाकी सम्पदा लामाको मृत्यु भएको हो ।
साथमा अविरल वर्षासँगै आएको बाढीको कारण भक्तपुर डुबानमा परेको छ । हनुमन्ते, खसाङखुसुङ र मनहरा खोला आसवासका थुप्रै बस्ती डुबानमा परेका छन् ।
बाढीका कारण ५० घर टहरामा क्षती भएको छ भने ५०० परिवार विस्तावित भएका छन् । कैयनको घरमा पानी पसेका कारण अन्नवाली लगायतका जिन्सी सामानमा समेत क्षति पुगेको छ ।
हनुमन्तेको बाढी बस्तीमा पसेपछि भक्तपुर नगरपालिकाको जगाते, हनुमान घाट, बाराही क्षेत्र, श्रृजनानगर, सल्लाघारी, जगाती, लिवाली क्षेत्रका सयौँ घर डुबानमा परेका छन् । यहाँका टहरा र माटोका घरहरु भत्किएका छन् भने जगातीस्थित सिद्धिस्मृति अस्पताल डुबानमा परेको छ ।
डुबानका कारण अस्पतालको उपचार सेवा समेत प्रभावित हुनाका साथै आकस्मिक कक्ष बन्द गरिएको छ । यहाँका प्राविधिक सामानहरुमा समेत क्षति पुगेको अस्पतालले जनाएको छ । त्यसैगरी, डा इवामुरा अस्पताल पनि डुबानमा पर्दा आकस्मिक सेवालगायत उपचार प्रभावित भएको छ ।
मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र, एसएस चोक, शंखधर साख्वाः चोक, दक्षिण बाराही क्षेत्र र निकोसेरा क्षेत्र पूरै डुबानमा परेको छ ।
सूर्यविनायक नगरपालिका क्षेत्रको सिरुटार, बालकोट र कटुञ्जे क्षेत्रमा बाढी पसेर विनाश गरेको छ । कौशलटार पुलमा बाढीले क्षति पुर्याएको छ भने बालकोट, कौशलटार, सागबारी, कटुञ्जे क्षेत्रका माटोका भुइँतला घर र टहराहरु बगाएको छ । गोठहरुसँगै गाई, बंगुर, कुखुरा, बाख्राहरुसमेत पानीले बगाएको छ ।
साथै जडीबुटीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती पूरै डुबानमा परेको छ ।
डुवानमा परेका १११ जनाको उद्धार भएको प्रहरीले जनाएको छ । उद्धार गरिएकामा केही घाइतेलाई अस्पताल भर्ना गरिएको छ भने केहि उपचारपछि फर्किएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सुरक्षाकर्मी र रेडक्रसको टोली उद्धार कार्यमा खटिएको थियो ।
डुबानका कारण मध्यपुरथिमि शंखधरचोकदेखि सूर्यविनायकसम्म अरनिको राजमार्ग बन्द नै भएको थियो । राजमार्ग बन्द हुँदा यात्रुहरु अलपत्र परेका थिए । उक्त राजमार्ग मध्याह्न १२ बजेपछि मात्र सञ्चालनमा आएको थियो ।
Categorized in राष्ट्रिय