भव्यताका साथ महानगर दिवस मनाइने
SamacharDesk – सोसियल ब्युरो | २०७५ मङ्सिर २८, शुक्रबार

काठमाडौं महानगरपालिकाले यहि मंसीर २९ देखि पुष २ गतेसम्म भव्य रुपमा महानगर दिवस मनाउने भएको छ । कामपाले पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न सम्मान एवम् सांस्कृतिक झाँकि प्रस्तुति सहित २४औं महानगर दिवस मनाउने जनाएको हो ।
कामपा प्रमुख विद्यासुन्दर शाक्यले मंसीर २९ गते शनिबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी ओलीले महानगर दिवसको उद्घाटन गर्नुहुने जानकारी दिनुभयो । ्वसन्तपुरमा आयोजना हुने औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओलीले दिवसको उद्घाटन गर्नुहुनेछ ।
सोही क्रममा काठमाडौंका प्रथम मेयर जनकमान श्रेष्ठलाई सम्मानको कार्यक्रम पनि रहेको छ । साथै १० जना पत्रकारलाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार, २५ वर्ष सेवा दिएका कर्मचारीलाई दीर्घ सेवा पुरस्कार, उत्कृष्ट करदाता सम्मान लगायतका पुरस्कार तथा सम्मानहरु पनि कामपाले महानगर दिवसको अवसरमा दिनेछ ।
महानगर दिवसको रौनक बढाउन सांस्कृतिक कार्यक्रमको आयोजना गरिनुका साथै, धिमेय्, धाः, नायखिं लगायतका स्थानीय लोक बाजा प्रदर्शनी, बसन्तपुर, हनुमानढोका, तेंगल, किलागल, असन, लगन, थँहिति, वन्दे लगायतका स्थानहरुमा स्थानीय खानाको स्टलहरु समेत राखिने जानकारी कामपा प्रमुख शाक्यले दिनुभएको छ ।
विश्वका सामू नगरको मौलिक पहिचान प्रदर्शन गर्ने र देशको पर्यटन उद्योगलाई समेत टेवा दिने उद्देश्यले पहिलो पटक महानगर दिवस खुल्ला रुपमा आयोजना गर्न लागिएको कामपा प्रमुख शाक्यले बताउनुभयो ।
अर्को एक प्रसङ्गमा प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाभित्र ट्राफिक जामको समस्या कम गर्न यहि पुष १ गतेबाट सार्वजनिक सवारी साधनको लागी पिक एन्ड ड्रपको नियम लागू हुने जानकारी पनि दिनुभयो । पुष १ गतेबाट सार्वजनिक सवारीले यात्रु ओराल्न र चढाउन मात्र पाईने, कुरेर बस्न नपाईने नियम लागू हुने उहाँले बताउनुभयो ।
महानगरीय ट्राफिक प्रहरी, सडक विभाग, यातायात व्यवस्था विभागसँगको सहकार्यमा कामपाले पिक एन्ड ड्रप नियम कडाईका साथ लागू गर्न लागेको शाक्यले भन्नुभयो । साथमा नियम पालना नगर्ने सवारी साधनलाई ऐन अनुसार कारवाहि हुने उहाँको भनाई थियो ।
Categorized in समाज