arin enterprises

भव्य रुपमा तेश्रो नेपालभाषा साहित्य नखः शुरु

SamacharDesk – साहित्य ब्यूरो | २०७६ मङ्सिर ६, शुक्रबार

प्रभा भवन कमलादीको परिसर, शुक्रबार यहाँको रौनक बेग्लै थियो ।

नेपालभाषा साहित्य क्षेत्रका वरिष्ठ स्रष्टाहरुको साथमा कलाकार, पत्रकारको साथमा अभियन्ता, सर्वसाधारणको बाक्लो उपस्थिती ।

नेपालभाषा टाइम्सको आयोजनामा तेश्रो नेपालभाषा साहित्य नखः (महोत्सव) हुँदै थियो यहाँ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि आइपुगे कार्यक्रममा प्रमुख अतिथिको रुपमा । किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, नेपालभाषा एकेदमिका कुलपति चित्तरन्जन नेपाली, नेपालभाषा मंकाः खलःका उपाध्यक्ष मल्ल के. सुन्दरको साथमा आयोजक समितिका अध्यक्ष रमेशकाजी स्थापित मञ्चमा आसिन भएपछि कार्यक्रमको उद्घाटन समारोहले औपचारिकता पायो ।

कार्यक्रमको समुद्घाटन काठमाडौं महानगरपालिकाका मेयर शाक्यले गरे, नेवाः सँस्कृति अनुसार । उनले पानसमा बत्ती बालेपछि ताली बज्यो र शुरु भयो तेश्रो नेपालभाषा साहित्य नखः ।

 

६ वटा पुस्तक विमोचन

एकैपल्ट ६ वटा पुस्तकको विमोचन पनि भयो सोही उद्घाटन समारोहमा ।

वरिष्ठ उपन्यासकार, आख्यानकार मथुरा सायमिको आत्मकथा सायमि जि मथुरोका विमोचन गरे नेपालभाषा एकेदमिका कुलपति नेपालीले ।

त्यसैगरी वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको नुगःया गुनुगुनु पनि विमोचन भयो जनकवि दुर्गालाल श्रेष्ठको हातबाट ।

किर्तिपुर निवासी राजेन्द्रकुमार पुताले लेख्नुभएको गजलया सिद्धान्त व नेपालभाषाय् गजल र सुथसिया लिसः दुइवटा पुस्तकको विमोचन किर्तिपुरका मेयर रमेश महर्जनले गरे र चौथो साहित्य महोत्सव किर्तिपुरमै गर्नका लागि आव्हान गरे ।

नेपालभाषा साहित्य क्षेत्रलाई जासुसी उपन्यास दिने राज सायमिको नयाँ उपन्यास तुयूगु अजःको विमोचन कामपा मेयर शाक्यले गरे । साथमा शाक्यले वासुदेव अधिकारीबाट रचित कविता संग्रह युरो स्पर्शको पनि विमोचन गर्नुभयो । 

मन्तव्यको क्रममा कसैलाई निरुसात्हित गर्न हैन, उत्साहित गर्नको लागि साहित्य रचिनुपर्ने विचार शाक्यले पोखे ।

सातौं पुस्तक विमोचन गरे नेपालभाषा मंकाः खलःका उपाध्यक्ष मल्लले । उनले उद्धव मास्केको नियात्रा पुस्तक छगू नन्द देशय्’को विमोचन गरे ।

 

प्यानल डिसकसन साथै साँस्कृतिक कार्यक्रम पनि

उद्घाटन समारोह पछि रञ्जना लिपिको पुनरुत्थान विषयमा प्यानल डिसकसनले निरन्तरता पायो । संचारकर्मी निर्मल बज्राचार्यले सहजकर्ताको रुपमा संचालन गर्नुभएको डिसकसनमा रञ्जना लिपिको पुनरुत्थानका लागि सक्रिय यूवाहरुले आफ्नो अभियान र अनुभव सहभागीहरुसँग बाँडेका थिए ।

सो प्यानल डिसकसनमा अभियन्ताहरुले रञ्जना लिपिको संरक्षण र प्रवद्र्धनका लागि समयसापेक्ष कार्यक्रम अगाडी ल्याउनुपर्नेमा जोड दिएका थिए । स्मार्ट फोनको समयमा रञ्जना लिपिलाई पनि प्रविधिसँगै अगाडी बढाउनुपर्ने वक्ताहरुको भनाई रहेको थियो ।

साहित्य पाठको कार्यक्रमलाई आयोजक कमिटिकै अध्यक्ष रमेशकाजी स्थापित अगाडी बढाए । विद्वान समालोचक कमलप्रकाश मल्ललाई सम्झिँदै स्थापितले कविता पाठ गरे । त्यसपछि विभिन्न साहित्यकारहरुले आ–आफ्नो रचना पाठ गरेका थिए ।

साँस्कृतिक कार्यक्रममा रानीशोभा महर्जन र रोजी श्रेष्ठले आफ्नो सुमधुर स्वरले सहभागीहरुलाई मुग्ध बनाए भने पराकम्प र यमराजया ममः प्रहसनले खुब हसाँयो । बैकुण्ठ भण्डारीको क्यारीकेचरमा पनि सहभागीहरुले मनोरन्जन लिए ।

महोत्सवमा विभिन्न प्रकाशन गृह, प्रकाशकको विभिन्न पुस्तकहरुको स्टल पनि राखिएको छ ।

विगतका दुइ वर्षसम्म ललितपुर दरवारभित्र भण्डारखाल बगैंचामा आयोजना भएको नेपालभाषा साहित्य नखः यसवर्ष काठमाडौंको प्रज्ञा प्रतिष्ठानको प्राङ्गणमा आयोजना गरिएको हो ।

यस वर्ष महोत्सव दुई दिन हुनेछ । भोलि पनि साहित्यकारहरुबाट साहित्य पाठ, साँस्कृतिक कार्यक्रम लगायतका विभिन्न कार्यक्रम सहित तेश्रो नेपालभाषा साहित्य नखः निरन्तर रहनेछ ।

Categorized in पेजथ्री