भूकम्पबाट क्षतिग्रस्त माजुदेगःको पुनर्निर्माण शुरु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ कार्तिक १३, मंगलबार

२०७२ वैसाख १२ को भूकम्पबाट भत्किएको काठमाडौं वसन्तपुरस्थित माजुदेगःको पुनर्निर्माणको शुरुवात भएको छ । आज वसन्तपुरमा आयोजित एक कार्यक्रममा शुभ साइतमा पूजा गरी माजुदेगः पुनर्निर्माणको विधिवत् शुरुवात गरिएको हो ।
सोमवार विहान ९ बजेको शुभसाइतमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको साथमा उपमेयर हरिप्रभा खड्गीले माजुदेगःमा पूजा गरी पुनर्निर्माणको शुभारम्भ गर्नुभयो ।
पूजापछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै कामपा प्रमुख शाक्यले भुकम्पबाट क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणका लागी कामपासक्षम रहेको बताउनुभयो । आर्थिक पक्षमा कुनै समस्या नभएको अवस्थामा इमान्दारिताका साथ समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई प्रमुख शाक्यले निर्देशन दिनुभयो ।
कामपा उपप्रमुख हरिप्रभा खड्गीले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माणमा कामपा प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । जनताबाट निर्वाचित जनप्रतिनिधी जनताप्रति उत्तरदायी रहेको कुरा बुझी सबैले आआफ्नो इमान्दारिताका साथ पूरा गर्न उपप्रमुख खड्गीले अनुरोध गर्नुभयो ।
कामपा २३ वडाका वडाध्यक्ष मचाराजा महर्जनले पहिलो चरणमा काष्ठमण्डपको पुनर्निर्माण शुरु गरेको कामपाले दोश्रो चरणमा माजुदेगःको पुनर्निर्माण थालनी गरेको बताउँदै अब तेश्रो चरणमा त्रैलोक्य मन्दिर बनाउने जानकारी दिनुभयो । माजुदेगःको पुनर्निर्माण दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको जानकारी पनि महर्जनले दिनुभयो ।
माजु देगःको पुनर्निर्माणका लागी रु. ५ करोड ८८ लाख २४ हजार ३६५ रुपैयाँ ९७ पैसाको लागतमा दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्राकृतिक–सानु–पवन जे.भी.ले निर्माण ठेक्का पाएको छ ।
