arin enterprises

मनको ‘वँय् सु ?’ विमोचित

SamacharDesk – साहित्य ब्यूरो | २०७६ पौष १५, मंगलबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आन्दोलन सशक्त भएको समयमा उपलब्धी संस्थागत गराउन सक्नुपर्ने बताउनु भएको छ । गुठी विधेयक आन्दोलनको स्मरण गर्दै कामपा मेयर शाक्यले विधेयकमा भएका कमी कमजोरी सच्याउनका लागि मन्त्रालयबाट बोलाइएको बैठकमा सम्बन्धित गुठीयारहरु नपुग्नु विडम्वना भएको बताउनुभयो । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा आन्दोलन सबल भए आन्दोलनबाटै सरकार हटाउन सकिने तर कमजोर भए सरकारले आन्दोलनलाई दबाउन सक्ने बताउँदै आन्दोलन सशक्त भएकै समयमा उपलब्धीलाई संस्थागत गराउन अग्रसर हुनुपर्ने शाक्यले बताउनुभयो । 

यसैगरी नेकपा सचिवालयले प्रदेश ३ को नाम र राजधानीको सन्दर्भमा गरेको निर्णयबारे बोल्दै उहाँले देश पार्टी प्रणालीमा रहेको कारणले पार्टीको निर्देशन मान्दिन भन्न नपाइने तर पार्टीभित्र यस बारेमा छलफल गरिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा मेयर शाक्यले पत्रकार साथै साहित्यकार रत्न मनको नेपालभाषाको नाटक संग्रह ‘वँय् सु’को विमोचन गर्नुभयो ।

पुस्तकको बारे बोल्दै नेवाः मिडिया प्रा.लि.का अध्यक्ष सन्तकुमार महर्जनले संविधान निर्माणको क्रममा रचना गरिएका नाटकहरुमा लेखक मनले जनताले संविधान चाँडै आओस् र देशले निकास पाओस् भन्ने गरेको चाहना उजागर गरिएको बताउनुभयो । 

कार्यक्रममा कामपाका प्रवक्ता एवम् १५ वडाका अध्यक्ष ईश्वरमान डंगोल, सांस्कृतिक विभागका प्रमुख एवम् १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लाका सचिव समेत रहनु भएका मनको पुस्तक विमोचनको विशेष व्यक्तित्वका रुपमा लेखकका बुबा भाइकाजी महर्जन र आमा रत्न देवी महर्जनका साथै दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्य, काठमाडौं जिल्लाका अध्यक्ष अर्विन्दमान सिंहलगायतको उपस्थिति रहेको थियो ।

Categorized in पेजथ्री