मेयर शाक्यले पनि लिए पञ्चदान
SamacharDesk – कल्चर ब्यूरो | २०७६ भाद्र ११, बुधबार

काठमाडौं र भक्तपुरका वौद्ध धर्मावलम्बि नेवार समुदायले आज पञ्चदान पर्व धुमधामका साथ मनाएका छन् । वौद्ध परम्परा अनुसार आज भाद्र कृष्ण त्रयोदशीका दिन विभिन्न बहाः र बहिहरुमा पञ्चदान गरिएको हो ।
पञ्चदान अन्तर्गत हरेक वर्ष भाद्र कृष्ण त्रयोदशी आँगन, बहाः, बहीमा दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाएर राखिन्छ भने चुडाकर्म सम्पन्न भइसकेका शाक्य, बज्राचार्य र बुद्धाचार्यलाई चामल, धान, गहुँ, नुन, सानो केराउ, कालो भटमास, कुचो, तेल, खीर, दूध, दक्षिणा आदि दान गरिन्छ ।
एक दिनअघि भने बुद्ध प्रतिमा र दान दिइने वस्तु घरको कोठामा जम्मा पारिन्छ । यसरी दान गरिने वस्तु राखिएको ठाउँलाई दानशाला भनिन्छ । पञ्चदानमा विशेषतः दीपंकर बुद्धको मूर्तिलाई प्रमुख रूपमा राखेर पुज्ने गरिन्छ ।
पञ्चदानको क्रममा काठमाडौंको स्वयम्भू महाचैत्यमा दान दिने र लिनेको ठूलो भीड लागेको छ । पञ्चदान लिने र दिने दुबैलाई पुण्य र भविष्यमा निर्वाण प्राप्त हुने विश्वास गरिन्छ । बौद्ध धर्ममा बुद्धत्व प्राप्तिको लागि पूरा गर्नुपर्ने विभिन्न दशवटा पारमिताहरू मध्ये दानपारमिता सबभन्दा अगाडि आउँदछ ।
यसैक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि पञ्चदानमा सहभागी भएका छन् । मेयर शाक्यले पैदलै हिँडेर काठमाडौंका विभिन्न विहारहरु पुगेर पञ्चदान लिएका हुन ।
काठमाडौंको ठमेलस्थित विक्रमशील महाविहारवाट पञ्चदान लिने कार्यक्रममा सहभागिता जनाएर मेयर शाक्य इतुम्बहालसम्म पुगेका थिए । तीन बर्ष अघि पनि मेयर शाक्यले यसरी नै जनतामा सहभागी भएर पञ्चदान लिएका थिए ।
‘मेयर त म अहिलेमात्र बनेको हुँ तर भाषा, धर्म सँस्कृतिसँग त जन्मैदेखि जोडिएको छु । यहिँ स्थानीय समाजसँग यहि सँस्कृतिसँगै हुर्केँ, बढेँ र अहिले जनप्रतिनिधि भएर बसेको छु । मेयर भएँ भन्दैमा आफ्नो भाषा, धर्म र संस्कृतिलाई विर्सिनुहुन्न ।’ मेयर शाक्यको भनाई थियो ।
पञ्चदान लिने क्रममा मेयर शाक्य असनस्थित अशोकवृक्ष विहार कोथुननि पनि पुगेका थिए । गुथि संस्थानले सो विहार भत्काएर विजनेस कम्प्लेक्स बनाउन लागेको छ भने स्थानीय वासिन्दाले गुथि संस्थानको यस निर्णयको विरोध गरीरहेका छन् ।
दान कार्य गर्ने पर्वको रूपमा पञ्चदान पर्व बौद्धमार्गीहरुले प्रत्येक बर्ष आजकै दिनमा मनाउने कार्य गरिदै आएको हो । दान कार्य गर्नाले मैत्री, करुणा, मुदिता, उपेक्षाको भावना वृद्धि हुन्छ भने दानपारमिता पूर्ण भएमा अरू पारमिताहरूको अभ्यास गर्न सजिलो पर्दछ ।
यो पर्व काठमाडौं, भक्तपुर, ललितपुर, बनेपा, थिमी लगायत नेवार बौद्ध धर्मावलम्बी भएका विभिन्न बस्तीमा मनाइन्छ ।
Categorized in संस्कृति