arin enterprises

यसपालीको तिहारमा पनि तिथि अलमल

SamacharDesk – कल्चर ब्यूरो | २०७६ आश्विन ७, मंगलबार

यस वर्षको तिहारमा कार्तिक १२ गते नै म्हपूजा मनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । काठमाडौंमा सोमबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा १२ गतेकै दिन म्हपूजाको साथमा नेपाल सम्वतको नयाँ वर्ष समेत मनाउन आग्रह गरिएको हो ।

कार्यक्रममा बोल्दै वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले चाडपर्व मनाउन तिथिको गणितमा भन्दा व्यवहारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

‘कुनै पनि चाडपर्व, जन्मदिन वा शुभकार्यहरु गर्नको लागि पर्न आएको तिथिभन्दा पनि सुर्योदयको तिथि हेर्ने हामी नेवाःहरुको परम्परा हो’ संस्कृतिविद् जोशीको भनाई थियो । सुर्योदयमा एकछिनमात्र तिथि बाँकि रहेपनि दिनभर त्यहि तिथि अनुसारले चाडपर्व मनाउन सकिन्छ ।’

यसपालिको तिहारमा पंचाङ्ग निर्णायक समितिको पात्रोमा नरक चतुर्दशिकै दिनमा लक्ष्मी पूजा गर्न भनिएको छ भने औंसीको दिनमा म्हपूजा र गोवद्र्धन पूजा अनि प्रतिपदाको दिन नेपाल सम्वतको नयाँ वर्ष भनिएको छ ।

नेवाः समुदायमा म्हपूजाकै दिनमा नेपाल सम्वतको नयाँ वर्ष मनाउने चलन रहेको छ । यस्तो अवस्थामा म्हपूजा र नेपाल सम्वतको नयाँ वर्ष नै छुट्याइदिँदा नेवाः सँस्कृति नै विगार्न खोजेको शंका समेत कार्यक्रमका वक्ताहरुले पोखे ।

प्रा.डा. त्रिरत्न मानन्धरले भने, ‘यो नेवाः सँस्कृति नै विगार्ने नियत हो भनेर त म भन्दिन तर यस किसिमको तिथिको अलमलले हाम्रो मौलिक परम्परागत सँस्कृतिमा नकारात्मक असर भने पक्कै पर्छ ।’

‘तिथिको टुट वा एउटै तिथि दुइ दिन परेर हाम्रो चाडपर्वको दिन गणनामा केही असर पर्दैन’ धर्मोदय सभाका अध्यक्ष यज्ञमान पति बज्राचार्यले भन्नुभयो, ‘लक्ष्मी पूजाको भोलिपल्टै म्हपूजा मनाउने हो र त्यसको भोलिपल्ट नै भाईटिका मनाउने हो ।’

नेपालभाषा मंकाः खलःका सचिव नरेशबीर शाक्यले कार्तिक ११ गतेकै दिनमा लक्ष्मीपूजा, १२ गते म्हपूजा र १३ गते भाईटिका मनाउन सबैलाई आव्हान गर्नुभयो ।

नेपाल सरकारले १२ गतेसम्म मात्र सार्वजनिक विदा घोषणा गरेकोमा १३ गते भाईटिका मनाउनका लागि पनि सार्वजनिक विदा दिन पनि सचिव शाक्यले माग गर्नुभयो ।

कार्यक्रमको आयोजना नेपालभाषा मंकाः खलःले गरेको थियो ।

Categorized in संस्कृति