राजदूत शाक्यबाट ईजरायली राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७५ फाल्गुण २, बिहिबार

इजरायलको लागि नवनियुक्त नेपाली राजदूत डाक्टर अन्जना शाक्यले विहीवार इजरायली राष्ट्रपति कार्यालयमा ओहोदाको प्रमाण–पत्र पेश गरेकी छन् । इजरायली राष्ट्रपति रेउभेन रिभ्लीनसमक्ष नेपाली राजदूत डाक्टर शाक्यले ओहोदाको प्रमाण–पेश गरेकी हुन् ।
ओहोदाको प्रमाण–पत्र पेश गर्ने कार्यक्रममा इजरायली राष्ट्रपति कार्यालयले नेपाली राजदूत शाक्यलाई विशिष्ट सम्मान पनि गरिएको थियो । नेपाली राजदूत डाक्टर शाक्यलाई इजरायली सरकारबाट विशिष्ट सम्मान गार्ड अफ अनर प्रदान गरिएको हो ।
इजरायली राष्ट्रपति रिभ्लीनले नेपाली राजदूत डाक्टर शाक्यसंग आधा घण्टा भेटवार्ता पनि गरेका थिए । भेटवार्ताका क्रममा डाक्टर शाक्यले राष्ट्रपति रिभ्लीन समक्ष नेपालको सातवटै प्रदेशमा इजरायलको सेन्टर अफ एक्सिलेन्सी अर्थात इजरायली प्रविधिको तालिम केन्द्र खोल्नका लागि प्रस्ताव राखेकी थिइन् । इजरायली उच्च प्रविधिको कृषि, सूचना–प्रविधि, कम्प्युटर इञ्जिनियरिङ, मेडिकल, शिक्षा तथा एडभान्स टेक्नोलोजीको सेन्टर अफ एक्सिलेन्सी खोल्नलाई डा. शाक्यले गर्नुभएको अनुरोधलाई राष्ट्रपति रिभ्लीनले सकारात्मक रुपमा लिएको बताइएको छ ।
भेटवार्ताकै क्रममा नेपाली राजदूत डाक्टर शाक्यले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभेच्छा सन्देश र नेपाल भ्रमणको निम्तो पनि राष्ट्रपति रिभ्लीनसमक्ष पेश गरेकि थिइन् । दुई पक्षीय भ्रमणवाट नेपाल र इजरायल वीचको दौत्य सम्वन्ध तथा भाइचारा अझ बलियो हुने राय नेपाली राजदूत डाक्टर शाक्यले पेश गरेकी थिइन् ।
डा. शाक्यले इजरायली उद्योगपती, व्यवसायीहरुलाई नेपालमा हुन गैरहेको इन्भेष्टमेन्ट समिटमा भाग लिन आव्हान गर्नुभएको थियो । आधा दर्जनभन्दा बढी प्रतिष्ठित उद्योगपति तथा व्यापारीहरुले इन्भेष्टमेन्ट समिटमा भाग लिएर नेपालमा लगानी गर्न इच्छा व्यक्त गरेको पनि बताईएको छ ।
नेपाली राजदूत डाक्टर शाक्यले इजरायलको राष्ट्रभाषा हिब्रुमा समेत संवोधन गर्दा इजरायली राष्ट्रपति रिभ्लीनदेखि सरकारी कर्मचारी र इजरायली संचारमाध्यमहरु समेत प्रभावित भएका थिए ।
Categorized in राष्ट्रिय