arin enterprises

राजधानीका मस्जिदको अनुगमनमा काठमाडौँका मेयर

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ९, मंगलबार

जमातीहरु रहेको हुनसक्ने आशंकामा आज काठमाडौंका चार ओटा मस्जिदहरुमा अनुगमन भएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, मानवअधिकार आयोगकी मोहना अन्सारी, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललगायतको टोलीले रत्नपार्कस्थित नेपाली जामे मस्जिद, कास्मिरी मस्जिद र सुनधारा र स्वयम्भूस्थित भूँइखेलका मस्जिदको अनुगमन गरेका हुन् ।

वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा बस्दै आएका केहीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसको केही दिनपछि उदयपुरको भुल्केमा रहेको एउटै मस्जिदमा बस्दै आएका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । 

दुबै ठाउँका मस्जिदमै बसेकाहरुमा कोरोना पोजेटिभ देखिएपछि अन्य मस्जिदहरुमा पनि जमातीहरु बसेको हुनसक्ने र उनीहरु कोरोना संक्रमित हुन सक्ने भन्दै विभिन्न सञ्चार माध्ययममा समाचार आइरहेका बेला मुस्लिम समूदायको सबैभन्दा बढी भीडभाड हुने यी चार स्थानको अनुगमन गरिएको हो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आज अनुगमन गरिएको चार स्थानको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । 

‘राजधानीमा पनि विभिन्न मस्जिदमा जमातीहरु विना सूचना बसेको हुनसक्ने आशंकापछि आज चारवटा मस्जिदको अनुगमन गरिएको छ । कतिपय सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा अहिले पनि ती मस्जिदहरुमा नमाज पढ्ने काम निरन्तर भैरहेको भन्ने आशंकालाई मध्यनजर गर्दै हामीले अनुगमन गरेका हौँ ’ कामपा प्रमुख शाक्यले भन्नुभयो ।

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले विभिन्न समयमा मनाइने मौलिक परम्परा, संस्कृति र सम्पदाको जगेर्ना गर्दै भीडभाडमा जात्रापर्व, पूजा, प्रार्थना नर्गन अघि नै अपिल गरिसकेको स्मरण गराउनुभयो । 

आजको अनुगमनको क्रममा कुनै किसिमको भिडभाड वा नमाज पढ्ने गरेको अवस्था नदेखिएको प्रमुख शाक्यले बताउनुभयो । 

‘दुईवटा मस्जिदमा धर्मगुरु, नियमित सरसफाई गर्ने, खाना बनाउनेलगायतका काम गर्ने आठ–आठ जना मात्रै रहेको पाइयो । सुन्धारा र स्वयम्भूमा त अझ त्यो भन्दा कम संख्यामा रहेको पाइयो’, शाक्यले जानकारी दिनुभयो ‘त्यहाँ देखिएको सुनसान अवस्थाले महानगरवासीलाई ढुक्क हुने वातावरण निर्माण भएको छ ।’

उहाँले बाहिरबाट कोही नयाँ व्यक्ति मस्जिदमा आएको जानकारी पाउने वित्तिकै वडाका जनप्रतिनिधि वा प्रहरीलाई खवर गर्न आग्रह गरेको पनि जानकारी दिनुभयो । 

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पनि आफ्नो अध्यक्षतामा बनेको अनुगमन समितिबाट निरन्तर अनुगमन गरिरहेको जानकारी दिनुभयो ।

‘विभिन्न सञ्चारमाध्ययममा समाचार आएपछि मुस्लिम आयोगले मेरो अध्यक्षतामा पूर्वमन्त्री, मानव अधिकार आयोगका सदस्य, धर्मगुरुलगायत रहेको सात सदस्यीय केन्द्रीय अनुगमन समिति बनाएको छ । त्यो समितिले निरन्तर अनुगमन गरिरहेको छ’ अध्यक्ष अन्सारीले भन्नुभयो ।

अनुगमनका क्रममा लकडाउन अवधिभर कसैलाई पनि प्रवेश नदिन, पाहुनालाई पनि बास नदिनु, नमाज पढ्न आउनेलाई पनि गेट नखोल्न पुनः निर्देशन दिएको अन्सारीको भनाई हो । 

भारत र पाकिस्तानबाट आएर उपत्यकामा रहेका जमाती पनि अहिले लकडाउनको पूर्ण पालना गर्दै जिल्ला प्रशासन र वडा कार्यालयको निगरानीमा क्वारेन्टाइनमा बस्नुभएको अन्सारीले जानकारी दिनुभयो ।

Categorized in राष्ट्रिय