arin enterprises

राष्ट्रपति भण्डारी र बङ्गलादेशका प्रधानमन्त्री हसिना विच शिष्टाचार भेटवार्ता

SamacharDesk – संवाददाता | २०७७ चैत्र ९, सोमबार

 

बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकामा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको बताईएको छ । सोमबार नै बंगलादेशका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार नै त्यहाँ पुग्नुभएको हो ।  राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री ज्ञवाली सहित राष्ट्रपतिकी छोरी उषाकिरण भण्डारी लगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् ।  भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य रहको बताईएको छ । 

भेटवार्ताका क्रममा नेपाल र बंगलादेशको बीचमा रहेको पारवहन सम्झौता संशोधनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुने बताइएको छ । त्यस्तै नेपाल र बंगलादेशबीचमा स्यानिटरी र साइटो स्यानेटरी सम्बन्धी समझदारी पत्रका साथै नेपाल र बंगलादेशबीच पर्यटन प्रवर्द्धन सम्बन्धी समझदारी पत्रमा र उर्जा सहकार्य पत्रमा पनि हस्ताक्षर हुने कार्यक्रम तय भएको छ ।  

Categorized in राष्ट्रिय