रौतहटमा देखियो दुई जनामा कोरोना संक्रमण
SamacharDesk – विकाश | २०७७ बैशाख १६, मंगलबार

रौतहटको थप दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि हुनेमा वृन्दावन नगरपालिका ९ भुसहाका २५ वर्षीय पुरुष छन् भने अर्का संक्रमित देवाही गोनाही नगरपालिका १ का ३५ वर्षीय पुरुष हुन् ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुवैमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिएका वृन्दावन नगरपालिकाका पुरुष भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।
जनकपुरबाट आएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो ।
पिसिआर विधिबाट परिक्षण गरिँदा कोरोना संक्रमण पुष्टि भएपछि उनको खोजी सुरु भएको छ ।
उनी विगत १० दिनदेखि घर परिवारमा बसेको बताइएको छ ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका पुरुष भने हाल क्वारेन्टाइनमै रहेका छन् ।
काठमाडौंबाट गत वैशाख १२ गते आएको चार जनाको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो ।
सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
दुई जना कोरोना संक्रमित भेटिएको क्षेत्र स्थानीय प्रशासनले अहिले सिल गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन नगरपालिका वडा नं ९ भुसाहा गाउँ र देवाही गोनाही नगरपालिकाक १ को नहरटोललाई चार किल्ला तोकेर मानिस आउन र जान प्रतिबन्ध लगाएको छ ।
प्रशासन कार्यालयले सूचना जारी गर्दै सिल गरिएको इलाकाबाट कुनै पनि ब्यक्ति बाहिर निस्कीए वा अन्यत्रबाट सिल गरेको इलाकामा प्रवेश गरे कानून अनुसार कारबाही हुने जनाएको छ ।
कोरोना संक्रमितको परिवार र समुदायलाई अलग गरेर इलाकाभरी मास स्क्रिनिङ गरी त्यसको रिपोर्ट नआउन्जेलसम्म त्यस इलाकाबाट कोही पनि बाहिर निस्कन र बाहिरबाट त्यस इलाका प्रवेश गर्न प्रतिबन्ध गरिएको छ ।
आज थप दुई जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । तीमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
Categorized in राष्ट्रिय