arin enterprises

लकडाउनको दौरान अनलाइनबाटै ओलम्पिकको तयारी तीव्र

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ चैत्र २८, शुक्रबार

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जापानको टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्डको माध्यमबाट छनौट खेल्न जाने तयारीमा रहेका सम्भावित खेलाडी तथा प्रशिक्षकहरुसँग जानकारी लिएको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणसँगै नेपाल समेत लकडाउनमा रहेको अवस्थामा एनओसीले भिडियो कन्फ्रेन्सिङको माध्यमबाट खेलाडी, प्रशिक्षक र सम्वन्धित संघका पदाधिकारीसँग जानकारी लिएको हो ।

यसै बीच लकडाउनको समयमा खेलाडीलाई घरमा नै मनोवैज्ञानिक रुपमा प्रशिक्षण गर्न एनओसीले पहल थाल्ने भएको छ । यसका लागि मनोवैत्रानिक प्रशिक्षक इन्द्र गुरुङबाट प्रशिक्षण दिनका लागि एनओसीले तयारी थालेको छ । 

भिडियो कन्फ्रेन्सिङको माध्यमद्वारा प्रशिक्षण दिने तयारी थालेको एनओसीले समस्यामा परेका खेलाडीका विषयमा समेत जानकारी लिने र सहयोग पुर्याउने भएको छ । 

यसका साथै सम्वन्धित खेलका प्रशिक्षकहरुलाई समेत खेलाडीहरुसँग नियमित सम्पर्कमा रहँदै उनीहरुलाई ट्रेनिङ टिप्सहरु दिन समेत आग्रह गरेको छ ।

भिडियो कन्फ्रेन्सिङमा वोल्दै एनओसीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले कोभिड १९ का कारण समस्त विश्व सहित नेपाल समेत असाधारण अवस्थाबाट गुज्रिरहेको बताउँदै विशेष परिस्थितीमा एक वर्ष पछि सरेको ओलम्पिकबाट नेपालले फाइदा लिन सक्ने धारणा राखे । 

उनले भने– ‘वाइल्ड कार्डमा छनौट भएका खेलाडीका लागि विशेष ध्यान दिँदै हामीले यो पहल थालेका छौं, आशा छ यसबाट खेलाडी मनोवैज्ञानिक रुपमा मैदानमा आफ्नो खेल प्रदर्शन गर्न सक्षम हुनेछन ।’

खेलाडी, प्रशिक्षक तथा संघका पदाधिकारीहरुलाई सम्वोधन गर्दै अध्यक्ष श्रेष्ठले मानसिक र शारिरिक रुपमा स्वस्थ रहन तथा समस्या रहे एनओसीलाई जानकारी दिन आग्रह गरे । 

उनले आगामी दिनमा खेलाडीको प्रशिक्षणका लागि एक्सन प्लान सहित नयाँ योजनाका साथ अगाडी बढ्ने बताउँदै लकडाउन पश्चात पनि सबै खेलाडी र प्रशिक्षकको कोभिड १९ परिक्षण समेत गरिने बताए ।

भिडियो कन्फ्रेन्सिङमा बोल्ने खेलाडी र प्रशिक्षकले लामो समय लकडाउनमा बस्नु पर्दा निकै न्यास्रो लागेतापनि सुरक्षा नै पहिलो प्राथमिकता रहेको तर्क अघि सारेका थिए । 

बेलायतमा रहेकी गौरिका सिंहले आफू सुरक्षित रहँदै घरमा नै अभ्यासरत रहेको बताइन । 

उनले भनिन– ‘पहिलो कुरा त ‘स्टे सेफ’ नै हो, यो अवस्थामा म ’ड्राइ ल्याण्ड’ ट्रेनिङ लिइरहेकी छु । यसले मलाई मेरो फिजिकली फिट गर्ने कुरामा सहयोग पुगेको छ ।’

यता स्विमिङका एलेक्स शाहले पनि घरमा नै फिजिकल ट्रेनिङ लिइरहेको जानकारी दिए भने जुडोका इन्द्र श्रेष्ठले आफ्नो घर सिन्धुपाल्चोकमा रहेर नै एकल प्रशिक्षणमा व्यस्त रहेको बताए । 

उनले भने–‘विहान बेलुका घरमा नै पावर ट्रेनिङमा नै व्यस्त छु, अरु बेला परिवारमा कोरोना सक्रमणबाट कसरी जोगिने भन्ने ज्ञान समेत बाँडेको छु ।’

आर्चरीकी ज्ञानु अवालेले पनि आफू मामाघर भक्तपुरमा बसेर फिजिकल ट्रेनिङ लिइरहेको बताइन भने कराँतेका नविन शाहीले फिजिकल फिटनेसमा व्यस्त रहेको जानकारी दिए । 

भिडियो कन्फ्रेन्सिङमा जुडोकी प्रशिक्षक देवु थापा, तेक्वान्दोका क्वान गुरु र विभिन्न संघका अध्यक्षहरुले समेत आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा राखेपका उपाध्यक्ष तथा एनओसीका सहसचिब पिताम्वर तिम्सिनाले लकडाउनकै बीचमा समेत ओलम्पियन, पुर्व खेलाडीहरु, प्रदेशका खेलाडी, प्रशिक्षक सवैको तथ्यांक लिने र कोही समस्यमा परेको भए तत्काल राहत पुर्याउने विषयमा समेत तयारी भइरहेको जानकारी दिए । 

उनले सागमा पदक विजेता खेलाडीको रकम समेत पर्सिबाट नै सम्बन्धित खेलाडीको बैंक खातामा पठाइने समेत बताए ।

एनओसीका महासचिब निलेन्द्रराज श्रेष्ठले लकडाउनको समय घरबाट बाहिर ननिस्कन र कुनै समस्या भए आफूलाई जानकारी गराउन आग्रह गरे ।

उनले आफ्नो फिटनेसको ख्याल गर्न खेलाडीलाई आग्रह समेत गरेका थिए । 

एनओसीले ओलम्पिकको तयारीका लागि महासचिब श्रेष्ठलाई संयोजक तोकेको छ भने उपाध्यक्ष चतुरानन्द वैद्य र कार्यकारी सचिब सुजन श्रेष्ठलाई सदस्य तोकेको छ ।

सो अवसरमा पुर्व ओलम्पियन दिपक विष्ट, एनओसीका उपाध्यक्ष चतुरानन्द वैद्य, राखेपका टिम तयारीका निर्देशक महेन्द्र राई, मनोवैज्ञानिक प्रशिक्षक ईन्द्र गुरुङ लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

एनओसीले वाइल्ड कार्डको छनौटका लागि स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह, कराँतेबाट अनु अधिकारी र नविन रसाइली, आर्चरीबाट ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका विर बहादुर महरा, सुटिङका शुष्मिता नेपाल र कल्पना परियार, वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङकी मिनु गुरुङ रहेका छन । 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ओलम्पिक खेल एक वर्ष पछि सार्ने निर्णय गरेसँगै छनौट खेलहरु पनि पछि धकेलिएका छन ।

Categorized in स्पाेर्ट्स