arin enterprises

लकडाउनमा खेलाडिको अवस्थाबारे एनओसिको चिन्ता

SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ चैत्र २६, बुधबार

विश्वभर फैलिएको कोरोना कोभिड १९ सक्रमण फैलिए संगै नेपाल समेत लकडाउनमा छ । विगत १७ दिन देखि लकडाउन रहेको नेपालमा ओलम्पिक लगाएत अन्य खेलको तयारीमा जुटेका खेलाडीहरु समेत यति बेला घरमानै बस्न बाध्यछन ।

खेलाडीलाई आफ्नो शारिरिक प्रशिक्षणसँगै मानसिक रुपमा स्वस्थ राख्न के गर्न सकिन्छ भन्ने बारे नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सरोकारवालाहरुसँग आज गम्भिर छलफल गरेको छ ।

सो अवसरमा कोभिड १९ र नेपालको खेलकुदको वर्तमान अवस्थाको साथै योजनाको विषयलाई लिएर भिडियो कन्फरेन्समा छलफल भएको थियो ।

भिडियो कन्फ्रेन्सिङको माध्यमबाट भएको छलफलमा एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ, महासचिब निलेन्द्रराज श्रेष्ठ सहित एनओसीका अन्य पदाधिकारीहरु, ओलम्पियनहरु, चिकित्सक, खेलकुद पत्रकार लगायत सहभागि रहेका थिए ।

करिव २ घन्टा लामो छलफलमा लकडाउनको समयलाई मध्यनजर गर्दै एकआपसमा सम्पर्क वढाउन एप्स निर्माणका लागि एनओसीले पहल गर्ने भएको छ ।

त्यसैगरि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एनओसीले संयुक्त रुपमा खेलाडीको अवस्थाबारे बुझ्न र अनुगमनका लागि पहल गर्न सरोकारवालाहरुले सुझाएका छन ।

लकडाउनको समयमा खेलाडीलाई पर्ने कुनै पनि असुविधामा सहयोगको लागि पहल गर्न एनओसीले पहल थाल्ने अध्यक्ष श्रेष्ठले जनाएका छन । 

उनले भने–“हामी खेलाडीका सवालमा निकै गम्भिर छौं र यो चुनौतीका समय कुनै खेलाडीलाई समस्या नआओस भन्नका लागि राहत कोषको व्यवस्था गर्न समेत हामी अगाडी बढ्नेछौ ।”

छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले इतिहासमा पहिलो पटक ओलम्पिक खेल सरेको विषयमा जानकारी दिँदै आयोजक राष्ट्र जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमटी सबै कार्यक्रमहरुलाई नयाँ कार्यसुची बनाएर अघि बढेको बताए । 

ओलम्पिकका लागि क्वालिफाइङ राउण्डका खेलहरुका लागि समेत नयाँ मितीहरु घोषणा हुने क्रममा रहेको उनले बताए ।

ओलम्पिक खेल एक वर्ष पछि सरेकोले नेपालले त्यसबाट केही फाइदा लिन सक्ने बताउँदै अध्यक्ष श्रेष्ठले खेलाडीलाई अझै दुई साता कोरोना सक्रमण विरुद्ध लडन विश्व स्वास्थ संगठनको प्रोटोकललाई कसैले पनि नाघ्न नहुने तर्क अघि सारे ।

सो अवसरमा एनओसीका महासचिब श्रेष्ठले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत राष्ट्रिय स्तरका खेलाडीलाई कोरोना सक्रमण फैलिरहेको अवस्थामा ‘फ्रन्ट लाईन’मा सुरक्षाका लागि खटाउन नहुने धारणा राखे । 

खेलाडी संक्रमित भएमा खेल क्षेत्रले समेत ठूलो घाटा व्योर्हन सक्ने उनको भनाई थियो । 

उनले कुनै पनि राष्ट्रिय स्तरका खेलाडीलाइ समस्या परेमा एनओसीमा खवर गर्न समेत आग्रह गरे । समस्यमा रहेका खेलाडीलाई सहयोग गर्न एनओसी तयार रहेको उनको भनाई थियो ।

बुधबार भएको भिडियो कन्फ्रेन्समा ओलम्पिक २०२० अर्को वर्षका लागि सरेकोले अब नेपाली खेलाडीको तयारीका विषयमा पनि छलफल भएको थियो । 

एनओसीले अहिले खेलाडीको अवस्थाको लगत राख्नुपर्ने र कुनै खेलाडीलाई दैनिकी गुजाराको लागि समस्या रहेको भए सहयोगका लागि तयार रहनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए । 

Categorized in स्पाेर्ट्स