लकडाउन २५ वैशाखसम्मको लागि थपियो
SamacharDesk – विकाश | २०७७ बैशाख १४, आइतबार

सरकारले लकडाउनलाई २५ गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै खतरामुक्त भइनसकेकाले कोरोना रोकथाम तथा नियन्त्रणको प्रयास जारी राख्नुपर्ने बताएका थिए ।
कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले कोरोनाको संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारी भएको तत्काल खुला गरिहाल्न नहुने निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।
तर, सरकारले भने लकडाउन १० दिन थपेको हो ।
आजको मन्त्रिपरिषद बैठकले अत्यावश्यक उद्योगहरु सञ्चालन गर्ने र विकास निर्माणका कामहरु गर्न सकिने निर्णय पनि गरेको छ ।
संक्रमणको जोखिम नभएका ठाउँहरुमा आवश्यक सुरक्षा सतर्कताका साथ उद्योगहरु सञ्चालनको निर्णय गर्नसकिने भनेको छ ।
वैशाख २५ सम्म लकडाउन जारी राख्दै स्थितिमा सुधार आए सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउन संसद अधिवेशन आह्वान गर्नसकिने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।
अन्तराष्ट्रिय सीमा नाकामा आवागमन वैशाख ३१ गतेसम्म रोक्ने निर्णय पनि यसै वैठकले गरेको छ ।
यसअघि शनिबार बसेको उच्चस्तरीय समन्वय समितिले अन्तराष्ट्रिय तथा अन्तरिक हवाई उडान जेठ २ गतेसम्म रोक्ने निर्णय गरिसकेको छ ।
नेपालमा कोरोनाबाट संक्रमित दोस्रो व्यक्ति भेटिए लगतै सरकारले ११ चैतबाट लकडाउन लागू गरेको थियो । त्यसयता चारपटक लकडाउन बढाइएको छ ।
Categorized in राष्ट्रिय